गान्तोक: एनएचपीसी लिमिटेडको टिस्टा चरण-६ परियोजनाले आफ्नो सामाजिक दायित्व कार्ययोजनाअन्तर्गत नामथाङलाई एउटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण गरेको छ। कम्पनीको बालुटारस्थित कार्यालयले एक कार्यक्रमबीच दक्षिण सिक्किमको नामथाङ स्वास्थ्य एवं कल्याण केन्द्रलाई उक्त आधुनिक सुविधायुक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो। नामथाङ-रातेपानी क्षेत्रका विधायक संजीत खरेलको उपस्थितिमा नामथाङ स्वास्थ्य तथा कल्याण केन्द्रलाई हस्तान्तरण गरेको हो। यस कार्यले सिक्किमको स्वास्थ्य सेवा सुविधामा सामुदायिक विकास, सामाजिक उत्तरदायित्व र वरिपरिका मानिसहरूको जीवनमा लाभ पुग्ने आशा गरिएको छ। एनएचपीसीले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी प्रेस विज्ञप्तिमा गरेको छ।