खरसाङ: टुङ सन्तमेरिज समष्टि अन्तर्गत रहेका कफीबारी शाखा नारी शक्ति गठनार्थ एक जरुरी सभा सम्पन्न भएको छ। स्थानीय गोदामधुरा सार्वजनिक भवनमा सम्पन्न उक्त सभामा चन्द्रकला छेत्रीले अध्यक्षता गरेकी थिइन्।टुङ-सन्तमेरिज समष्टि नारी शक्ति संयोजिका रेश्मा दियाली थापाको विशेष उपस्थिति रहेको सभामा समष्टि सांगठनिक सचिव विपन भूजेल, सन्तमेरिज लोवर शाखाका सभापति सिनेन थापा, कफीबारी संसदका ग्राम पञ्चायत सदस्य साङ्गा लामाको उपस्थिति रहेको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई अझ दह्रिलो अनि सांगठनिक रुपले मजबुतीकरण गर्न हेतु विभिन्न शाखा-प्रशाखाहरुमा यसरी नारी शक्ति, युवा शक्ति गठन भइरहेको क्रममा कफीबारी क्षेत्रबाट जम्मा पाँचवटा गाउँहरु रहेको हुनाले अबको केही दिनभित्रमा नै सबै क्षेत्रहरुबाट नारी सदस्याहरु निम्त्याएर कफीबारी शाखामा एक दह्रिलो नारी शक्ति गठन गरिने निर्णय लिइयो। सभालाई समष्टि नारी शक्ति संयोजिका रेश्मा दियाली थापा, कफीबारी संसदका ग्राम पञ्चायत सदस्य साङ्गा लामा, लगायत कफीबारी शाखाका पूर्व नारी शक्ति मूल-सचिव भूमिका छेत्रीले आ-आफ्ना सान्दर्भिक वक्तव्यहरु सभामा राखेका थिए।
जिना तामङद्वारा सञ्चालन गरिएको उक्त सभामा नारी शक्ति सदस्याहरुको उपस्थिति रहेको थियो भने सबै गाउँहरुबाट नारी समूहलाई सम्मिलित गराई यथाशीघ्र नै कफीबारी शाखामा पूर्ण नारी शक्ति गठन गरिने सभाले निर्णय लिएको जानकारी प्राप्त भएको छ।