नयाँ वन्दे भारतले तोड्यो बुलेट ट्रेनको कीर्तिमान, ५२ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति

Vande-Bharat

नयाँ दिल्ली: तेस्रो र नयाँ वन्दे भारत ट्रेनले परीक्षणको क्रममा मात्र ५२ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति समातेर बुलेट ट्रेनको कीर्तिमान तोडेको छ। यो गति हासिल गर्न बुलेट ट्रेनले ५४.६ सेकेन्ड लिन्छ। नयाँ ट्रेनको अधिकतम गति १८० किमी प्रतिघण्टा छ। पुरानो (वन्दे भारत एक्सप्रेस) को अधिकतम गति १६० केएमपीएच छ। रेल मन्त्री अश्विनी वैष्णवले यो जानकारी दिए। रेलवेले अगस्त २०२३ सम्ममा त्यस्ता ७५ वटा रेल उत्पादन गर्ने लक्ष्य राखेको छ। यो ट्रेन मुम्बई र अहमदाबाद बीच चल्नसक्छ र आधिकारिक रूपमा यसै महिना शुरु हुनेछ।

वास्तवमा, नयाँ वन्दे भारत ट्रेन शुक्रबार अहमदाबाद-मुम्बईको बीचमा ट्रायल गरिएको थियो। अहमदाबाददेखि मुम्बई सेन्ट्रलसम्मको ४९२ किलोमिटरको दूरी तय गर्न रेलले ५ घण्टा १० मिनेट लगाएको थियो। शताब्दी एक्सप्रेसले अहमदाबादबाट मुम्बई सेन्ट्रल पुग्न ६ घण्टा २० मिनेट लाग्छ। यो ट्रेन बिहान ७.०६ बजे अहमदाबादबाट छुटेर २ घण्टा ३२ मिनेटमा सूरत पुग्छ भने शताब्दी एक्सप्रेसले तीन घण्टा लाग्छ। रेल मन्त्री अश्विनी वैष्णवले नयाँ ट्रेनले १३० सेकेन्डमा १६० किलोमिटर प्रतिघण्टाको गति लिनसक्ने बताए भने पुरानो संस्करणको रेलले यो गति हासिल गर्न १४६ सेकेण्ड लगाएको थियो। उनले थपे, ‘रेलवेले अक्टोबरदेखि वन्दे भारत ट्रेनको नियमित उत्पादन सुरु गरेर हरेक महिना दुईदेखि तीनवटा रेल उत्पादन गर्ने लक्ष्य राखेको छ, जसलाई आउँदो महिनामा पाँचदेखि आठसम्म पुर्‍याउनेछ। यो नयाँ रेलले सबै परीक्षण पूरा गरि व्यावसायिक रुपमा चल्ने तयारी गरेको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वैष्णवले नयाँ रेलमा धेरै उन्नत प्रणाली रहेको बताए। नयाँ रेलको तौल पनि तीब्र गतिमा चल्नसक्ने गरी ३८ टनले घटाइएको उनले बताए। नयाँ वन्दे भारत ट्रेन अत्याधुनिक सुविधाहरूले सुसज्जित छ। यसमा भ्याकुममा आधारित बायो ट्वाइलेट, अटोमेटिक स्लाइडिङ डोर, जीपीएसमा आधारित सूचना प्रणाली, सीसीटीभी क्यामेरालगायतका धेरै सुविधाहरू छन्। उनले फोटोकाटालिटिक एयर प्युरिफायर प्रणालीले नयाँ वन्दे भारत ट्रेनलाई कोरोनालगायत हावाबाट हुने सबै रोगबाट मुक्त राख्ने बताए। वैष्णवले भने, ‘अब हामी सिरियलमा निर्माण शुरु गर्छौं। परिक्षण सम्पन्न भएको छ। हाम्रो लक्ष्य अक्टोबरदेखि नियमित उत्पादन शुरु गर्ने हो, यसअन्तर्गत प्रत्येक महिना दुईदेखि तीनवटा रेल उत्पादन हुनेछ। यसपछि यो क्षमता बढाएर प्रति महिना पाँचदेखि आठ रेलसम्म पुर्‍याउनेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement