सोरेङ: सोरेङ जिल्ला ब्याटमिन्टन एसोसिएसनको तत्वावधानमा आयोजित तीन दिवसीय प्रथम सोरेङ ओपन ब्याटमिन्टन टुर्नामेन्टको समापन आज भएको छ। सोरेङ जौटार इन्डोर स्टेडियममा सम्पन्न टुर्नामेन्टको समापन कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथमा सोरेङ ब्याटमिन्टन एसोसिएसनका मुख्य संरक्षक तथा विधायक आदित्य गोले, सिक्किम ब्याटमिन्टन एसोसिएसनका अध्यक्ष एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सिक्किम ब्याटमिन्टन एसोसिएसनका उपाध्यक्ष डीएस कुवर, उर्जा विभागका अतिरिक्त मुख्य अभियन्ता कार्जाङ भोटिया, ग्राम विकास अधिकारी वाङ्दी शेर्पा र पारुहाङ सुब्बा, सरकारी ठेकेदार सञ्जय चाण्डक, सोरेङ ब्याटमिन्टन एसोसिएसनका मुख्य समन्वयक लोब्जाङ तामाङ, अध्यक्ष एबी गुरुङसहित एसबीएका सम्पूर्ण पदाधिकारीगण, सदस्यगण, संघ-संस्थाका प्रतिनिधिगण, दर्शक र खेलाडीहरुको उत्साहजनक उपस्थिति रहेको थियो। उल्लेख्य, सिक्किम राज्य सँगसँगै कोलकाता, सिलगढी, दार्जीलिङ, असम, नागाल्याण्ड, कुचविहार, कालेबुङ, खर्साङ र छिमेकी राष्ट्र नेपालका पोखरा अनि काठमाडौंबाट चारसय पचास भन्दा अधिक खेलाडीहरुले १९ वटा विभिन्न वर्गको स्पर्धामा अंशग्रहण गरेका थिए। टुर्नामेन्टको फाइनलसम्म पुगेर विजेता र उपविजेता बन्न सफल खेलाडीहरुलाई मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट ट्रफी, प्रमाणपत्र र नगद राशि प्रदान गरियो। टुर्नामेन्टका सम्पूर्ण ट्रफीहरु सडक एवं पुल विभागका सहायक अभियन्ता सुमन छेत्रीले आफ्नी स्वर्गीय माता रत्नमाया छेत्रीको पुण्य स्मृतिमा प्रदान गरेका हुन्। सोरेङ ब्याटमिन्टन एसोसिएसनले टुर्नामेन्ट सफल बनाउनको निम्ति सहयोग पुर्याृउनु सबैसबैलाई कृतज्ञता पनि प्रकट गरेका छन्।