पाकिम: मुख्यमन्त्री कम्पाउन्ड आर्चेरी गोल्ड कपअन्तर्गत आज छौटौ दिनको अवसरमा ताथाङचेनले रालोङलाई ७९-१० को भारी अन्तरले पराजित गऱ्यो। कार्थोक आर्चेरी फिल्डमा आयोजित प्रतियोगिताको आयोजन पाकिम जिल्ला आर्चेरी एसोसिएशनले जिल्ला प्रशासन केन्द्रको समन्वयमा सञ्चालन गरिरहेको छ। आजको कार्यक्रममा संस्कृति विभाग अनि स्वास्थ्य तथा परिवार कल्याण विभागका सल्लाहकार टीटी भोटिया, नाथाङ माचोङ समष्टिकी विधायक पामिन लेप्चा र अन्य धेरै अधिकारीहरुको उपस्थिति थियो। आजको मुख्य आकर्षण ताथाङचेन गोल्ड र केआरजे रालोङ बीचको खेल थियो। जसमा ताथाङचेनले जित हासिल गरेको हो। ताथाङचेन गोल्डका खेलाड़ी सामसो भोटियालाई उत्कृष्ट खेलका लागि ‘म्यान अफ द म्याच’ घोषित गरियो। आजको कार्यक्रम समापनपछि अतिथिहरुले कार्यक्रम स्थलमा रहेका विभिन्न स्टलहरूको भ्रमण गरेका थिए। कार्यक्रमको अर्को उद्देश्य सांस्कृतिक सम्पदा र युवा संलग्नतालाई प्रोत्साहित गर्ने रहेको छ। सिक्किम राज्य स्थापनाको ५० औं वर्षगाँठको अवसरमा प्रतियोगिता आयोजन गरिएको हो। साथै नशामुक्त भारत अभियान र नशामुक्त सिक्किम अभियानलाई सशक्त गर्ने आयोजक समितिको प्रमुख लक्ष्य राखिएको छ।