खरसाङ: तीनधारे नाट्य टोलीको एक सभा तीनधारेको क्रिकेट बजारस्थित बल संघ भवनमा सम्पन्न भयो।जसमा गत वर्ष २७ अक्टोबर २०२४ को दिन स्थानीय महात्मा गाँधी हलमा प्रदर्शन गरिएको नाटक ‘कालो छाँया’ को समीक्षा गरियो। सभामा नाटक मञ्चनको खर्चपातको फाँटवारी टोलीकै कोषाध्यक्षा शिक्षा मगरले सबै समक्ष राखिन् भने उब्रेको रकम बारे पनि छल फल गरियो। उक्त उब्रेको रकम नाटकको रिहशल गर्दा रिहशल गर्न नि:शुल्क बाल संघको भवन प्रयोग गर्न दिईएको कारणले आभार स्वरूप बाल संघलाई नै दिईने नाटककार सुवास बान्तवाको निर्णय रहेको हुँदा सर्वसम्मतिमा सो रकम बाल संघलाई नै दिईने निर्णय गरिएको छ। यसको साथै यसै अवसरमा सबै नाट्य कलाकार साथै नाटकको निर्देशक तथा नाटककार सुवास बान्तवाले आभार स्वरूप नाटकको अभिनय निदेशक जेबी गुरूडलाई एउटा ‘आभाराभिन्दन पत्र ‘ नाटककार सुवास बान्तवाको बाहुलीबाट प्रदान गरियो भने यसै अवसरमा जेबी गुरूडकी धर्म पत्नी स्वर्गीय ललिता गुरूडको आत्मा शान्तिको निम्ति दुई मिनटको मौन धारण गरियो अनि एक शोक सम्वेदना पत्र पनि उनलाई प्रदान गरियो। यसै अवसरमा समाजसेवी संगीतकार, नाटककार गौतम मोक्तानलाई पनि यस नाटक मञ्चनमा उनको आर्थिक साथै नैतिक सहयोगको निम्ति आभार व्यक्त गर्दै खदा साथै जातीय टोपी पहिराई सम्मान गरियो। अन्तमा पूर्व शिक्षक एंव वरिष्ठ व्यक्तित्व जेबी गुरूडले यो नाटक ३२ वर्षपछि तीनधारेमा प्रदर्शन भएको अनि यो तीनधारको इतिहासमा संग्रहित रहने भएको साथै नाटकको कथा वस्तु लगायत सबै कलाकारहरूको भूमिका एवं अभिनय आफूले सोचेभन्दा धेरै नै उत्कृष्ट रहेकोले सबैलाई बधाई अनि आशीर्वाद दिएका छन्।

सभालाई यस नाटकको नाट्य कलाकार साथै शिक्षक देवेन मंगरले सञ्चालन गरेका थिए भने नाटककार सुवास बान्तबाले यस नाटकको सफलताको निम्ति नाटक हेरिदिने सबै दर्शकवर्ग, कलाकार, संगीतकार, उदघोषक लगायत नाटक प्रदर्शनको दिन आएर सहयोग गरिदिने सबै सबै महानुभावहरूप्रति आभार व्यक्त गरे। सभाको अन्त्यमा सभाको सभापति शंकर प्रधानको संक्षिप्त सम्भाषणपछि सभा समाप्त गरिएको जानकारी प्राप्त भएको छ।