खरसाङ: खरसाङ विश्वकर्मा समाजद्वारा भारतीय संविधानका जनक तथा भारतरत्न डा. भीमराव अम्बेडकरको १३५औँ जन्म जयन्ती निर्मलकुमार गहतराजको अध्यक्षता एवम् शास्त्रीय सङ्गीतका ज्ञाता गुरूजी गोविन्दसिँह घतानीको प्रमुख आतिथ्यमा समाजको निजी भवनमा सम्पन्न भयो। सन् १९२५-मा खरसाङ विश्वकर्मा समाजले आफ्नो पुनरुद्धारकाल अर्थात् सन् २००५-देखि यसो निरन्तर रूपले बाबासाहेब अम्बेडकरको जन्म जयन्ती जस्तै रूपमा भए पनि निरन्तर पालन गर्दै आइरहेको तथ्य आफ्नो स्वागत सम्बोधनमा राख्दै सचिव केशवसिंह घतानी कार्यक्रमको औचित्यमाथि प्रकाश पारे।कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालय, शेल्पुका पूर्व प्रधान अध्यापक केएम सिलाल लगायत समाजसेवी सुष्मा सिंह, सबिता गजमेर, सञ्जय सिंह, श्यामकुमार लोहार, कमलसिंह श्रीवाल, प्रतिमा सिँह, सन्तोष सिँह, नारायण सिँह लगायत समाजका धेरै सदस्यहरू उपस्थिति रहेको यस कार्यक्रममा डा अम्बेदकरको जीवन र दर्शनमाथि केएम सिलालले प्रकाश पारेका थिए।प्रमुख अतिथि गोविन्दसिँह घतानीले हाम्रो समाजलाई आजको स्थितिमा ल्याई पुऱ्याउन बाबासाहेबको भूमिका र योगदानलाई कहिले भुल्न नसक्ने कुरो जनाउँदै अम्बेदकर एक युग पुरुष हुन् भने। त्यस्तो प्रतिकूल अवस्थामा उनले गरेको संघर्षबाट हामीले धेरै कुरो सिक्न पर्नेबारे पनि उनले आफ्नो सम्बोधनमा प्रष्ट पारे। यसबाहेक अध्यक्ष निर्मलकुमार गहतराजले बाबासाहेबका गुरूमन्त्र ‘शिक्षित र सङ्गठित बन्नु’-बारे धेरथोर जनाए। आफ्नो सम्बोधनमा गहतराजले खरसाङ विश्वकर्मा समाजले यस वर्ष एक सय वर्षको गरिमामय खुड्किलो पार गरिरहेको दुर्लभ र ऐतिहासिक क्षण हामीसित छ, यो मौका अब फेरि हामीले फेरिफेरि देख्ने पाउने छैटौँ त्यसर्थ, यसलाई भव्य र ऐतिहासिक बनाउन सबैले बाबासाहेबको गुरूमन्त्रलाई हृदयबाट अङ्गीकार गर्नुपर्ने सुझाव व्यक्त गरे।समाजले यस ऐतिहासिक घटनालाई अर्थपूर्ण बनाउन वर्षव्यापी रूपमा कार्यक्रमहरू आयोजन गर्दै आइरहेको कुरो उनले अवगत गराउँदै आगामी नोभेम्बर महिनाको अन्तिम सप्ताहमा आयोजित गरिने दुई दिवसीय समापन कार्यक्रमको निम्ति सबैलाई अपील गरे।अन्त्यमा अम्बेडकर जयन्तीमा उपस्थित भएर सफल तुल्याइदिएको सबैलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम बर्खास्त गरे भनी खरसाङ विश्वकर्मा समाजको प्रचार प्रसार सचिव
विनोद रसाइलीले विज्ञप्ति जारी गरी बताएका छन्।