गान्तोक: स्वच्छ सिक्किम, स्वस्थ सिक्किम अभियानअन्तर्गत स्वच्छ सिक्किमको निम्ति एकसाथ-को नारा दिएर आज पूर्व सिक्किमको रानीपुल पुलदेखि टोपाखानी साङ्खोलासम्म राष्ट्रिय राजमार्ग 10 मा व्यापक सरसफाई गरियो। यस सफाई अभियानको आयोजना सिक्किम ब्रदरवुड फूटबल क्लबले ओपन रोड वण्डर्स मोटरसाइकल क्लब र क्रुसेडर्स मोटरसाइकल क्लब, सिक्किमसितको सहकार्यमा गरेको थियो भने यसमा समाजका विभिन्न तह र तप्काका प्रतिनिधिले सक्रिय सहभागिता जनाएका थिए। जसमा मार्तम रुम्तेक समष्टिका विधायक सोनाम छिरिङ भेञ्चोङ्गपा प्रमुख रहेका छन्।
सबैको साथ र सहभागिताले सिक्किम राज्यलाई थप सुन्दर र स्वच्छ बनाउन सकिन्छ भन्ने सोच लिएर आफूहरूले यो सफाई अभियान आयोजना गरेको ओपन रोड वण्डर्स मोटरसाइकल क्लबका प्रमुख रोशन छेत्रीले बताए। यसमा सक्रिय सहभागिता जनाएकोमा उनले विधायक भेञ्चोङ्गपालगायत अन्य सबै प्रति आभार व्यक्त गरे। यसरी नै आफ्नो सम्बोधन राख्दै विधायक भेञ्चोङ्गपाले देशकै स्वच्छ राज्यहरू मध्ये एउटा सिक्किमको स्वच्छतालाई कायम राख्नु सम्पूर्ण राज्यवासीको जिम्मेवारी र कर्तव्य रहेको बताए। यस क्रममा विभिन्न क्लबले मिलर आजको सफाई अभियान आयोजना गरेकोमा उनले सबैलाई धन्यवाद दिए। यसको साथै उनले स्थानीय पञ्चायतहरूलाई आ-आफ्नो क्षेत्रको सफाईमा ध्यान दिने अपील पनि गरे।