गान्तोक: गत १२ अप्रेलदेखि याङगाङको हेलिप्याडमा शुरू भएको तीन दिवसीय अन्तर्राष्ट्रीय युवा सम्मेलनको आज समापन भयो। राज्यमा पर्यटन क्षेत्रलाई बढावा दिने उद्देश्यले आयोजन गरिएको यस कार्यक्रमको उदघाटन गत १२ अप्रेलको दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए। याङगाङ पर्यटन विकास समितिको पहलमा आय़ोजित कार्यक्रमको समापन अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिल विकास बस्ने मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। साथमा सिक्किम विश्वविद्यालयका उपकूलपति डा. ज्योति प्रकाश तामाङ, निर्देशक प्रोफेसर योदिता भोटिया, प्रोफेसर जिम्गी भोटिया लगायत भारतका १७ राज्यका प्रतिनिधि साथै नेपाल, भोटाङका प्रतिनिधिहरूले पनि अंशग्रहण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि बस्नेतले दक्षिण जिल्लाको याङगाङलाई लुकेको रत्नकोरूपमा वर्णन गरे। उनले यस क्षेत्र परम्पराले भरिएको र सबैको इच्छा आंकक्षा र सपना पुरा गर्न सक्ने क्षमता रहेको अवगत गराए। उनले याङ्गाङको बढ्दो प्रतिष्ठालाई समुदाय-आधारित र पर्यावरण-पर्यटन केन्द्रको रूपमा जोड दिँदै यहाँको शान्त परिवेश समृद्ध लोककथा, परम्परागत कृषि संस्कृति र सांस्कृतिक जीवनमा आधारित रहेको बताए। उनले थप जानकारी गराएअनुसार यस तीन दिवसीय सम्मेलनले पर्यटनलाई शिक्षाको क्षेत्रमा विस्तार गर्ने पहललाई प्रतिविम्ब गरेको छ। विशेष गरेर यस कार्यक्रमले ग्रामीण क्षेत्रका युवाहरूलाई पर्यटन क्षेत्रमा संलग्न गराउन प्रोत्साहित गर्ने अवसर दिएको विचार व्यक्त गरे। सोही क्रममा एसयूका उपकूलपति डा. ज्योति प्रकाश तामाङले जातीय खाद्य प्रणालीबारेमा आफ्नो प्रस्तुति दिए। उपकूलपति तामाङले किनेमा जस्ता परम्परागत व्यञ्जनहरूको सांस्कृतिक र वैज्ञानिक महत्वमाथि प्रकाश पारे। उनले पर्यटन क्षेत्रमा जसरी फ्रान्सले विश्वव्यापीरूपमा आफ्नो अधिनस्थ स्थापित गरेको छ सोही प्रकारले सिक्किमले पनि फ्रान्सलाई पछ्याउँदै राज्यको परम्परा, सांस्कृतिलाई संरक्षण गर्नुपर्ने विषयमा जोड दिए।
सिक्किम राज्यको व्यापकरूपमा प्रचार प्रसार गर्न राज्यको खाद्य साथै परम्परामाथि ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे। यसरी नै प्रोफेसर योदिता भोटियाले राज्यमा दिगो पर्यटनको आधारभूत स्तम्भको रूपमा सांस्कृतिक सम्पदा, प्राकृतिक स्रोतहरू र सद्भाव संरक्षणको महत्त्वमाथि जोड दिइन्। उनले युवा र शैक्षिक जमातलाई जिम्मेवारीपूर्वक पर्यटन क्षेत्रलाई विकास गर्न आग्रह गरिन्। यसरी नै प्रो. दुर्गा छेत्रीले समावेशी र समुदाय नेतृत्वमा पर्यटन विकासको आवश्यकतामाथि जोड दिँदै सामुदायिक सशक्तिकरणको लागि पर्यटन विस्तारको प्रमुख विषयमाथि जानकारी गराए।