गान्तोक: राज्यको सामाजिक कल्याण विभाग र अखिल सिक्किम अनुसूचित जाति कल्याण संघको संयुक्त पहलमा आज सिक्किम विधानसभा परिसरमा भारतरत्न डा. भीमराव अम्बेडकरको १३४औं जयन्ती गरियो। यस अवसरमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिकोरूपमा उपस्थित थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अथितिकोरूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यपाल माथुरले अम्बेडकर जयन्तीको अवसरमा राज्यबासीलाई शुभकामना व्यक्त गरे। राज्यपालले यस दिनलाई सामाजिक न्याय, समानता र समावेशी विकासलाई सुदृढ पार्न महत्वपूर्ण योगदान पुर्यालउने महान् व्यक्तित्वहरूलाई सम्झने अवसर प्रदान गरेको बताए। राज्यपालले सिक्किमले सामाजिक सद्भावना निर्माणमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै राज्यको सुनौलो, समृद्ध र समर्थ सिक्किमको दृष्टिकोणले भारतको समावेशी विकासमा योगदान पुर्याोउँदै आएको र विकसित भारतको लक्ष्य हासिल गर्न सिक्किम सदैव प्रतिवद्ध रहेको बताए। उनले अम्बेडकरको जीवन र विचारलाई मूर्तरूप दिने र समाजमा समानता र सशक्तिकरणलाई अघि बढाउने प्रतिज्ञा गर्न सबैलाई आह्वान गरे। राज्यपालले आफ्नो सम्बोधनमा भारतमा अछूत वा अनुसूचित जाति भनेर चिनिने दलितहरूको अधिकार र सशक्तिकरणको लागि लड्दै आफ्नो जीवन समर्पित गर्ने डा. बी. आर अम्बेडकरको योगदानमाथि प्रकाश पारे। अम्बेडकर जातीय भेदभावको कट्टर विरोधी रहेको र उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक उत्थानको लागि अथक प्रयास गरेको बताए। उनलाई प्रायः भारतीय संविधानका पिता भनेर चिनिने र सम्भवतः सबै संविधान सभा सदस्यहरूमध्ये उनी सबैभन्दा प्रसिद्ध रहेको बताए। समारोहमा अनुसूचित जातिका दशौं र बार्हौ श्रेणीमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै प्रोत्साहित गरियो।