११ सेप्टेम्बरः दार्जीलिङकी म्याराथन धावक सुनिता सुब्बालाई आइतवार बाघडुग्रा एयरपोर्टमा भव्य स्वागत जनाइयो। गत ८ सेप्टेम्बरको दिन लद्दाखको नुर्बा क्षेत्रमा आयोजित राष्ट्रिय स्तरको सिल्क रूट लद्दाख म्याराथनको नवौं संस्करणमा सुनिताले ६२ अन्य धावकहरूलाई उछिनेर १२२ किलोमीटरको दूरी तय गरी पहिलो स्थान हासिल गरेकी थिइन्।

हाल जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) अधिनस्थ रहेको सूचना एवं सांस्कृतिक विभागमा कार्यरत सुनिता सुब्बाले यसअघि मई महिना नयाँ दिल्लीमा आयोजित स्टेडियम रन (म्याराथन)-मा पनि पहिलो स्थान हासिल गरेकी थिइन्। त्यसपछि लद्दाखको प्रतिकूल परिस्थितिमा हासिल गरेको सफलतामा जीटीए-का मुख्य कार्यपाल अनित थापाले खुशी व्यक्त गर्दै सुनिता सुब्बालाई बधाई दिएका छन्। यसको साथै सूचना एवं सांस्कृतिक विभागको तर्फबाट पनि उनलाई विभागको आउँदो कार्यक्रममा नागरिक अभिनन्दन जनाइनेछ।

लद्दाखमा सफलता हासिल गरी सुनिता सुब्बा आइतवार बिहान नयाँ दिल्लीबाट बाघडुग्रा एयरपोर्ट आइपुगिन्। एयरपोर्टमा उनलाई खरसाङ महकुमा खेलकुद संघका अध्यक्ष मोहन योञ्जन, महासचिव निर्मल गुरुङ, जीटीए सांस्कृतिक विभाग (खरसाङ)-का प्रमुख गोविन्द छेत्री, संगीतकार उपेन प्रधान, सुकराज दुमी, प्रेम गन्धर्व र रमेश शर्मासहित जीटीए सूचना एवं सांस्कृतिक विभागका अधिकारीहरूका उपस्थिति रहेको थियो।










