कालेबुङ: गोर्खा गौरव संस्थान कालेबुङको आयोजनामा आज पहिलो वैशाख भव्यताका साथ सम्पन्न गरिएको छ। नौमती बाजा टोलीको अगुवाईमा निकालिएको रैलीमा लाखे नृत्य, डम्फुरे, मादल खैँजडी आदिको साथमा लगायत विभिन्न संघ संस्था राजनैतिक दल, स्कूल आदिद्वारा व्यापक सहभागिता जनाइएको थियो।
मेला ग्राउण्डबाट आरम्भ भएको रैलीले मेन रोड डम्बर चोक १० माइल हुँदै पुनः मेला ग्राउण्डमा आएर समापन गरिएको थियो। यसै क्रममा कालेबुङ मादल संरक्षण समितिको नेतृत्वमा कालेबुङको मेला ग्राउण्डमा मादल बजाउने रेकर्ड कायम गरियो। यस अवसरमा एकैपटकमा १००८ वटा मादलहरु बजाएर एउटा अनौठो रेकर्ड कायम गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा आयोजक समितिद्वारा सबै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिएको छ। यस अवसरमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा गौरव संस्था कालेबुङको तर्फबाट सुधीर घलेले गोर्खा गौरव संस्थाले यसपाली कालेबुङमा छुट्टै प्रकारले नव वर्ष पालन गर्दै सांस्कृतिक शोभायात्रा निकालिएको बताएका छन्। उनले यस अवसरमा जातीय भेषभूषामा सजिएर जातीय वाद्य वाधनको साथमा कालेबुङ परिक्रमा गरिएको जानकारी गराएका छन्। उनले यसपाली पद्यमाश्री काजीसिंहको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै कालेबुङमा एक हजार 8 मादल बजाउने कार्यक्रम आयोजना गरेर श्रध्दाञ्जली अर्पण गरिएको जानकारी गराएका छन्।