तीनधारेमा पहिलो वैशाख सांस्कृतिक उत्सव २०८२ समारोह सम्पन्न

IMG-20250414-WA0330

खरसाङ: साहित्य कला संस्थान् तीनधारेको आयोजनामा आज पहिलो वैशाख सांस्कृतिक उत्सव २०८२ तीनधारेमा पालन गरिएको छ। साहित्य कला संस्थान् तीनधारेको अध्यक्ष रञ्जनकुमार रसाइलीको अध्यक्षता र क्षेत्रीय सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भएको छ। संस्थानका मूल सचिव सन्तोष लामाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण संस्थानको सह सचिव उत्तम शर्माले राखेका थिए‌। अतिथिहरुकका बाहुलीबाट डा. भीमराव अम्बेडकरको तस्वीरमा‌ माल्यार्पणसहित धूप द्वीप प्रज्वलन गरेर थालिएको कार्यक्रममा विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए। यस क्रममा नयाँ कमान, ब्लु डाईमण्ड अंग्रेजी स्कूल, ग्राम कल्याण समिति क्रिकेट बजार, रेणुका कन्या उच्च माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय आदिका नानीहरुले नृत्य प्रस्तुत गरेका थिए भने सुर गुञ्जन संगीत महाविद्यालयबाट दिव्यांश गदाल, प्रशंसा विश्वकर्म र गायक सुरज तामाङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाली पहिलो वैशाख र डा. भीमराव अम्बेडकर विषयमा प्राध्यापक डा अमीर दर्जीले वक्तव्य राखेका थिए। यस अवसरमा उनले नेपाली नव वर्ष नेपालमा धुमधामले पालन गरिने बताएका छन्‌। उनले हामी भूमिसितै आएका भारतीयहरु हौँ र हाम्रो पनि संस्कृति एउटै रहेको बताउँदै हाम्रो आफ्नै संविधान छ भनी बताएका छन्। उनले नेपालमा‌ बिक्रम सम्बत २०८२ रहेको र हामी भारतमा २०२५ मा‌ छौं भनी बताएका छन्। डा. अमीर दर्जीले भने, ‘हाम्रोमा सामाजिक, राजनैतिक, आर्थिक मतभेद होला तर हामीमा मनभेद हुनु हुँदैन‌।’


डा दर्जीले डा. भीमराव अम्बेडकरको विषयमा बोल्दै उनको जन्म १४ अप्रेल १८९१ मा मध्य प्रदेशमा भएको जानकारी गराएका छन्। उनले डा भीमराव अम्बेडकर त्यसताकको‌ कठोर सामाजिक भेदभावको समयमा कठोर परिश्रम गरेर पढेर शिक्षित बनेका थिए भनी बताएका छन्। उनले भने, डा भीमराव अम्बेडकर स्वतन्त्र भारतको पहिलो कानुन मन्त्री थिए। भारतको संविधान निर्माणको लागि गठित स्टाण्डिङ्ग कमिटीको चेयरम्यान थिए। डा भीमराव विलक्षण प्रतिभाका धनी थिए।’


कार्यक्रममा ब्लु डाईमण्ड अंग्रेजी स्कूलका विद्यार्थी नानीहरुले नेपाली पारम्परिक भेषभूषा प्रदर्शनी गरेका थिए। यसै कार्यक्रममा मार्सल आर्ट्समा तीनधारेको गोलाई पाखा निवासी तुलसा राई, तीनधारेको सत्र माइल निवासी म्याराथन धावक मनिष माझी र नेपाल आईडल र भोइस अफ् नेपालमा पुगेका सिपाहीधुरा निवासी सुरज तामाङ आदिलाई साहित्य कला संस्थान् तीनधारेको तर्फबाट सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्रीले साहित्य कला संस्थान् तीनधारेको कार्यप्रति आभार प्रकट गरेका छन्। उनले विद्यार्थी नानीहरुले नव वर्षको अवसरमा गोर्खा जातीय भेषभूषामा सजिएर आएर राम्रो सन्देश दिएको पनि बताएका छन्‌। कार्यक्रममा सभाध्यक्ष रञ्जनकुमार रसाइलीले तीनधारे क्षेत्रमा साहित्य कला संस्थानले साहित्य, कला र सँस्कृतिको जगेरा गर्न सदैव तत्पर रहेको बताएका छन्। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्‌। तीनधारेमा सम्पन्न पहिलो वैशाख सांस्कृतिक उत्सव २०८२ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै साहित्य कला संस्थान् तीनधारेको मूल सचिव सन्तोष लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement