खरसाङ: गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा आज खरसाङमा नेपाली नव वर्ष २०८२ को अवसरमा सांस्कृतिक शोभायात्राको साथमा पालन गरिएको छ। प्रत्येक वर्ष झैं यसपाली पनि खरसाङमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा भव्य सांस्कृतिक शोभायात्राको साथमा पहिलो वैशाख पालन गरिएको छ। उक्त सांस्कृतिक शोभायात्रा खरसाङको रेलवे स्टेशन परिसरबाट शुरु भएर हिल कार्ट रोड हुँदै अस्पताल मोड भएर वर्ध्दमान रोड हुँदै मोटर स्ट्याण्डम अनि पुनः रेलवे स्टेशन परिसरमा आएर समाप्त भएको छ। रेलवे स्टेशन परिसरमा पुगेर हरिजन समाज खरसाङको आयोजनामा डा भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गरिएको छ। उक्त सांस्कृतिक शोभायात्रामा खरसाङ क्षेत्र र वरिपरिका विभिन्न संघ संस्थाहरु र जात गोष्ठीहरूका प्रतिनिधिहरुले सहभागिता जनाएका छन्। उक्त शोभायात्रामा सहभागीहरुले जातीय भेषभूषामा सजिएर सहभागिता जनाएका थिए। उक्त सांस्कृतिक शोभायात्रालाई गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामा र सचिव प्रनिता मुखिया घिसिङले अगुवाई गरेका थिए। उक्त सांस्कृतिक शोभायात्रामा सभासदहरु रतन थापा, कल्पना प्रधान, श्याम शेर्पा, प्रणाम रसाइली, खरसाङ नगरपालिकाकोे चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, पूर्व सांसद शान्ता छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त सांस्कृतिक शोभायात्रा विषयमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले गत वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाली नव वर्षको अवसरमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा भव्य सांस्कृतिक शोभायात्रा निकालेर पालन गरिएको जानकारी गराएकी छन्। उनले यस अवसरमा खरसाङको रेलवे स्टेशन परिसरबाट सांस्कृतिक शोभायात्रा निकालेर बजार परिक्रमा गरेर पुनः रेलवे स्टेशन परिसरमा आएर समाप्त गरिएको र रेलवे स्टेशन परिसरमा डा भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गरिएको जानकारी गराएकी छन्। उनले यसपाली केवल सांस्कृतिक शोभायात्रा मात्र निकालिएको र आगामी दशैं तिहारको समयमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताएकी छन्। उनले यस सांस्कृतिक शोभायात्रामा सहभागिता जनाउने खरसाङ र वरिपरिका विभिन्न संघ संस्थाहरु, विभिन्न जात गोष्ठीहरूका प्रतिनिधिहरु र व्यक्ति विशेषलाई धन्यवाद टक्र्याएकी छन्। यस सांस्कृतिक शोभायात्रा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले नेपाली गोर्खाहरुको नव वर्षको अवसरमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा प्रत्येक वर्ष सांस्कृतिक शोभायात्रा निकालिने र यसपाली पनि आयोजना गरिएको जानकारी गराएका छन्। उनले पहिलो वैशाखको कार्यक्रमलाई हामीले सदैव निरन्तर रुपमा पालन गर्नुपर्छ भन्दै जातीय संस्कृतिलाई बचाउन यो आवश्यक रहेको बताएका छन्। उनले भाषा र संस्कृति बाँचे जाति बाँच्छ भन्ने उक्तिलाई अघि लाएर हामीले हाम्रो संस्कृतिको जगेरा गर्न आवश्यक रहेको पनि बताएका छन्।