सोरेङ: सोरेङ ब्याटमिन्टन एसोसिएसनको तत्वावधानमा तीन दिवसीय पहिलो सोरेङ ओपन ब्याटमिन्टन टुर्नामेन्ट २०२५ सोरेङमा आजदेखि शुरु भएको छ। उक्त टुर्नामेन्टको उद्घाटन विधायक आदित्य गोलेले गरे। विधायक गोले सोरेङ ब्याटमिन्टेन एसोसिएसनका प्रमुख संरक्षक पनि हुन्। टुर्नामेन्ट उद्घाटनको अवसरमा विधायक इरुङ तेञ्जिङ लेप्चा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव तथा सिक्किम ब्याटमिन्टन एसोसिएसनका अध्यक्ष जेकब खालिङ, सडक एवं पुल विभागका सचिव एबी सुब्बा, जनस्वास्थ्य अभियान्त्रिकी विभागका चीफ इन्जिनियर हरि शंकर शर्मा, पूर्व अध्यक्ष राजेन बस्नेत, आमन्त्रित अतिथि, सोरेङ ब्याटमिन्टन एसोसिएसनका सम्पूर्ण सदस्यगण र दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो। उल्लेख्य, सिक्किम राज्य सँगसँगै कोलकाता, सिलगढी, दार्जीलिङ, असम, नागाल्याण्ड, कुचबिहार, कालेबुङ, खर्साङ र छिमेकी राष्ट्र नेपालका पोखरा अनि काठमाडौंबाट चार सय पचास भन्दा अधिक खेलाडीहरुले १९ वटा विभिन्न वर्गको स्पर्धामा अंशग्रहण गरेका छन्।
टुर्नामेन्टको उद्घाटनको अवसरमा मुख्य अतिथि विधायक गोलेले सोरेङ ओपन ब्याटमिन्टन टुर्नामेन्ट आयोजना गर्न सोरेङ ब्याटमिन्टन एसोसिएसन सफल भएको भन्दै सिक्किमले खेलकुदको क्षेत्रमा निरन्तर प्रगति गरिरहेको बताए। उनले अघि भने, मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा राज्यमा खेलकुद क्षेत्रलाई विकास गर्न धेरै ठाउँमा स्टुडियमहरु निर्माण भइरहेको अनि फुटबल, आर्चरी र बक्सिङको एकाडेमीहरु स्थापना भइरहेको जानकारी गराए। सरकारले हरेक क्षेत्रका खेलाडीहरुलाई प्रोत्साहन गर्ने काम गरेको र खेलाडीहरुको सहायताको निम्ति सरकार हरदम साथमा रहने विधायक गोलेले सम्बोधनमा थपे।