नेसापले एक दिन अघि नै पालन गऱ्यो वैशाखी पर्व २०८२

IMG-20250413-WA0275

गान्तोक: नेपाली साहित्य परिषद, सिक्किमले आज एक दिन अघि नै वैशाखी पर्व २०८२ पालन गऱ्यो। राजधानीको डेभलपमेन्ट एरियास्थित परिषदको प्रेक्षागृहमा आयोजित कार्यक्रमलाई परिषदकै अध्यक्ष हरी ढुङ्गेलले अध्यक्षता गरेका थिए। भोलि पहिलो बैशाखको दिन परिषद भवनकै नजिक मुख्यमन्त्री प्रमसिंह तामाङ मुख्य अतिथि रहने एउटा महत्वपूर्ण कार्यक्रम रहेकोले यस कार्यक्रमलाई एक दिन अघि सारेर पालन गरिएको उनले जानकारी गराए।
वैशाखी पर्वको अवसरमा आज पुस्तक विमोचन, गजल वाचन, वार्ता अनि साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमअवधि सभाध्यक्ष अनि अतिथिहरूको बाहुलीबाट पत्रकार एवं साहित्यकार विजय वान्तावाद्वारा भारतीय नेपाली साहित्य निर्माताको सन्दर्भमा साहित्यकार स्व. भीम दाहालको योगदानमाथि लिखित पुस्तकको विधिवत लोकार्पण गरियो। यसरी नै कार्यक्रमअवधि पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत लिङ्के निवासी सामाजिक अभियन्ता कमल काफ्लेले वैशाखी पर्वको विशेषता र महत्वमाथि वार्ता प्रस्तुत गरेका थिए।
विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुतीले आजको कार्यक्रम सङ्गीतमय बनेको थियो। यस क्रममा गायकहरू राकेश कार्कीडोली, प्रेम गहतराज, गणेश ढुङ्गेल, दीपिका दियाली, रिवास गुरुङ र वर्षा सिंहले विभिन्न पुराना कालजायी गीतहरू प्रस्तुत गरे। यसको साथै गान्तोककी श्रीमती राधा पाण्डे र नेपालबाट आएका अतिथि साहित्यकार आवाज शर्माले गजल प्रस्तुत गरे।
कार्यक्रममा अध्यक्षीय सम्बोधन राख्दै हरी ढुङ्गेलले नेपाली साहित्य परिषद, सिक्किमले यसरी नै विभिन्न पारम्परिक पर्वहरू पालन गर्दै आएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement