सोनादा: ७४ वर्षीय गंगामाया थापाले आईतबार बिहान सम्पन्न कालेबुङ १० किलोमिटर दौडमा ६० वर्षभन्दा माथिका महिलाहरूको वर्गमा तेस्रो स्थान प्राप्त गरेकी छन्। उक्त दौड कालेबुङ युनाइटेड रनर्स क्लबद्वारा आयोजना गरिएको थियो। उनले यो दौड १ घण्टा ४६ मिनेटमा पूरा गरेकी थिइन्। प्रोजेक्ट लाइफकी गर्वित सदस्य गंगामाया थापा युवा तथा जेष्ठ खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। फिटनेसप्रतिको उनको समर्पणले देखाउँछ कि सक्रिय जीवनशैली अप्नाउन उमेर कहिल्यै बाधा बन्दैन। हालैका उपलब्धिहरूमा उनले छाङ्गु अल्ट्रा रनमा ४५ वर्षमाथिका महिलाहरूको समूहमा तेस्रो स्थान प्राप्त गरेकी छन्। यसको साथै उनी दाराप १३ के ट्रेल रनकी ब्राण्ड एम्बासेडर पनि बनेकी थिइन्। उनी आगामी २६ अप्रेलमा आयोजना हुने कालेबुङ अल्ट्रा रनको पनि एम्बासडर बनेकी छन्। गंगामायाको फिटनेस यात्रा केही महिना अगाडी मात्रै शुरु भएको हो। तर यो यात्रा सबैका लागि सन्देश दिन्छ कि सक्रिय जीवनशैली शुरु गर्न कहिल्यै ढिला हुँदैन। प्रोजेक्ट लाइफ दार्जिलिङ, कालेबुङ र सिक्किमका पहाडी क्षेत्रहरूमा आधारित एक सक्रिय रनिङ तथा फिटनेस समुदाय हो। यस संस्थाको स्थापना डा सुदर्शन तामाङले गरेका हुन् भने यसको सञ्चालन बिक्रम थापाले गर्दै आएका छन्। यो पहलले सामूहिक दौड, ट्रेल रनिङ कार्यक्रमहरू तथा स्वास्थ्य सम्बन्धी गतिविधिहरूमार्फत शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्दै आएको छ।
यसमा विद्यार्थी, पेशागत व्यक्ति, गृहिणी तथा जेष्ठ नागरिकहरू समेत सक्रिय रूपमा सहभागी छन्। समुदायका धेरै सदस्यहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्दै अरूलाई पनि सक्रिय जीवनशैली अपनाउन प्रेरणा दिइरहेका छन्।