११ सेप्टेम्बरः बार्सिलोनाले गोलको वर्षा गर्दै स्पेनिश ला लीगा फूटबलमा जीतको क्रम जारी राख्यो। यसरी नै एट्लेटिको म्याड्रिड पनि आफ्नो म्याच जित्न सफल भयो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले काडिज विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा केवल २९ प्रतिशत पोजेशनको साथ खेल्दै काडिजले बार्सिलोनालाई कड़ा चुनौती दिँदै पहिलो हाफको खेलमा गोल हुन दिएन। दोस्रो हाफको खेलमा चाहिँ बार्सिलोनाले गोलको वर्षा गऱ्यो। फ्रेंकी डी जोंगले ५५औं, रोबर्ट लेवाण्डोस्कीले ६५औं र अंशु फातीले ८६औं मिनटमा गोल गरे। त्यसपछि ओस्माने डेम्बेलेले स्टपेज टाइमको दोस्रो मिनटमा अझ एक गोल गरी बार्सिलोनालाई ४-०-ले जीत दिलाए। ला लीगाको नयाँ सीजनमा पहिलो म्याच ड्र गरेपछि बार्सिलोनाको यो लगातार चौथो जीत हो। यस अवधि टीमले १५ गोल गरेर केवल एक गोल खाएको छ। काडिज विरुद्ध जीतको साथै बार्सिलोना ५ वटा म्याचमा १३ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा पुग्यो। एउटा म्याच कम्ती खेलेर १२ पोइण्टको साथ रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ। यसबीच काडिजको चाहिँ यो लगातार पाँचौं हार हो।

यसरी नै एट्लेटिको म्याड्रिडले सेल्टा विगोलाई ४-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड मेट्रोपोलिटानो स्टेडियममा ४५ प्रतिशत पोजेशनको साथ खेल्दै एट्लेटिको म्याड्रिडबाट एञ्जेल कोरेआले नवौं, रोड्रिगो डी पलले ५०औं र यानिक कारास्कोले ६६औं मिनटमा गोल गरे। यसबाहेक सेल्टा विगोका उनाई नुनेजले ८२औं मिनटमा आत्मघाती गोल गरे। सेल्टा विगोबाट म्याचको एकमात्र गोल गाब्री वेगाले ७१औं मिनटमा छिराए। एट्लेटिको म्याड्रिड अहिले ५ वटा म्याचमा १० पोइण्टको साथ चौथो स्थानमा रहेको छ। यसरी नै एघाह्रौं स्थानमा रहने सेल्टा विगोसँग ५ वटा म्याचपछि ७ पोइण्ट रहेको छ। शनिवार राति खेलिएको ला लीगाका अन्य म्याचहरूमा रायो भालेकानोले भेलेन्सियालाई अनि गिरोनाले भाल्लाडोलिडलाई २-१-को समान अन्तरले पराजित गऱ्यो। यसरी नै दशजना खेलाड़ीको साथ खेल्दै सेविलेले एस्पानयोल विरुद्द ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। गिरोना अहिले ७ पोइण्टको साथ आठौं र रायो भालेकानो ७ पोइण्टको साथ नवौं स्थानमा रहेको छ।










