खरसाङ:w डा. रागिनी थापाद्वारा लिखित दुईवटा पुस्तकहरु आईतबार खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा लोकार्पण गरिएको छ। खरसाङ निवासी एंव सोनादा डिग्री कलेजकी प्रभारी डा. रागिनी थापाको पुस्तकहरु – ‘दार्जिलिङ पहाडी क्षेत्रका स्थाननामहरुको भाषातात्विक अध्ययन’ अनि दार्जीलिङ पहाडी क्षेत्रका स्थाननामहरुको अर्थपरक अध्ययन’ लोकार्पण समारोह खरसाङमा सम्पन्न भएको छ। उक्त दुईवटा पुस्तकहरुको लोकार्पण कार्यक्रमको अध्यक्षता उत्तर बंगाल विश्वविद्यालयका पूर्व प्राध्यापक लक्ष्मीकान्त शर्माले गरेका थिए भने प्रमुख अतिथिको रुपमा उत्तर बंगाल विश्वविद्यालयका पूर्व प्राध्यापक डा. घनश्याम नेपाल उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व प्राध्यापकहरु डा नरेशचन्द्र खाती, डा. कृष्णराज घतानी, सिक्किम विश्वविद्यालयकी प्राध्यापिका डा. कविता लामा, पूर्व शिक्षिकाद्वय सन्तु थापा र अमृत सुब्बा थापा अनि टीडीका उत्सव प्रधान उपस्थित रहेका थिए। प्राध्यापक मेघनाथ छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण साथै डा. रागिनी थापाको परिचयात्मक वक्तव्य उषाकिरण सत्यदर्शीले राखेकी थिइन्। यसै कार्यक्रममा डा. रागिनी थापाकृत दुईवटा पुस्तकहरु ‘दार्जिलिङ पहाडी क्षेत्रका स्थाननामहरुको भाषातात्विक अध्ययन’ अनि ‘दार्जीलिङ पहाडी क्षेत्रका स्थाननामहरुको अर्थपरक अध्ययन’ को लोकार्पण सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु लगायत कृतिकार डा. रागिनी थापा, उनको पति बिनोदकुमार थापा, वार्ताकार, प्रकाशक आदिको बाहुलीबाट सम्पन्न गरिएको छ। उक्त दुईवटा पुस्तकहरुमाथि खरसाङ महाविद्यालयका प्राध्यापक डा. योगेस खातीले समीक्षात्मक टिप्पणी राखेका थिए। उनले पुस्तकमाथि आफ्नो वार्ता प्रस्तुत गर्दै भने, ‘यी पुस्तकमा बैज्ञानिक अध्ययनबारे लेखिएको छ। स्थाननाम बहु महत्वको विषय मात्र नभएर सम्बन्धित क्षेत्रको रैथाने मानिसहरुका समाज, संस्कृति, परिचय, दीर्घकालीन चिन्हारीको प्रश्नसित जोडिएको कुरा छ। यो पुस्तक जाति, समाज र राष्ट्रको निम्ति, निक्कै उपयोगी छ।’
डा. योगेस खातीले अघि भने, ‘पुस्तकभित्र स्थाननाम बिज्ञानको संक्षिप्त परिचय छ, पहाडी क्षेत्रको परिचय, यहाँको विभिन्न स्थाननाम र व्युत्पत्ति, अर्थ र संरचना, मूलरुप र परिवर्तित रुप आदिमाथि चर्चा गरिएको पाउँछौं। क्षेत्रका विभिन्न जाति र तिनका भाषिक विशेषता, समाज, संस्कृति, इतिहास, भूगोल, पर्यावरण, व्यवसाय, व्यापार, वाणिज्य, जीविकोपार्जन,रहन सहन, खानपान,मानव मूल्य, विश्वास र मान्यता आदि रहेको छ।’
कार्यक्रममा विशिष्ट अतिथि एंव सिक्किम विश्वविद्यालयकी प्राध्यापिका साथै डा. रागिनी थापाकी मित्र डा कविता लामाले आफ्नी मित्र डा. रागिनी थापा र मित्रता विषयमा वक्तव्य राखेकी थिइन्। उनले आफ्नो विद्यार्थी जीवनदेखि अहिलेसम्मकि मित्रता विषयमा खुलेर कुराहरु राखिन्। यसै कार्यक्रममा डा. रागिनी थापा र पति बिनोदकुमार थापाको तर्फबाट कार्यक्रमको अध्यक्ष एंव आफ्नी गुरु लक्ष्मीकान्त शर्मा, प्रमुख अतिथि एंव गुरु डा. घनश्याम नेपाल, विशिष्ट अतिथिहरु क्रमैले गुरु डा नरेशचन्द्र खाती, डा. कृष्णराज घतानी, मित्र डा कविता लामा, वार्ताकार डा. योगेस खाती, प्रकाशक रसिक छेत्री साथै सञ्जीव छेत्री, उषाकिरण सत्यदर्शी साथै आफुलाई पढाउने गुरुहरु सन्तु थापा र अमृत सुब्बा थापा आदिलाई सम्मान जनाएका छन्। यस क्रममा उनले
प्राथमिक तहदेखि विश्वविद्यालयसम्म शिक्षा प्रदान गर्ने गुरुहरुलाई सम्मान जनाएका थिए। कार्यक्रममा प्रकाशकको तर्फबाट रसिक छेत्रीले वक्तव्य राखेका थिए। कार्यक्रममा डा. रागिनी थापाले आफ्नो तर्फबाट वक्तव्य राख्दै विभिन्न स्थानहरुबाट आएका साथै विभिन्न विद्यालयहरु र महाविद्यालयहरुबाट आएका शिक्षक शिक्षिकाहरु र प्राध्यापक प्राध्यपिकाहरुलाई धन्यवाद दिएकी छन्। उनले आफ्नो पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएकी छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित डा. घनश्याम नेपालले आफ्नो सम्बोधन राख्दै यस पुस्तकमा स्थाननामको अध्ययन भाषा विज्ञानको आधारमा गरिएको अध्ययन हो भनी बताएका छन्। उनले भने, ‘हामी संकेतहरुमा कुरा गर्छौं र यी दुईवटा पुस्तकहरु पनि संकेत नै हुन्। संकेतको ठूलो संख्या छ जसमा स्थाननामको कुरा पनि एक हो। नाममा सबथोक छ। नाम ठूलो कुरा हो। जन्मेपछि प्रत्येकको आ-आफ्नो नाम हुन्छ र नामको लागि मानिसले सबथोक गर्छन्।’

डा. घनश्याम नेपालले अघि भने ‘आफ्नो ठाउँको नामको अध्ययन गर्नु महत्वपूर्ण हुन्छ जुन डा रागिनी थापाले गरेकी छन्। उनले नामसित सम्बन्धित कुराहरु ल्याउन रागिनी थापाले धेरै मेहनत र परिश्रम गरेर समाजलाई दिएकी छन् र यसको लागि बधाई छ।’
कार्यक्रममा सभाध्यक्ष लक्ष्मीकान्त शर्माले वक्तव्य राख्दै आफ्नो विद्यार्थीहरुले उन्नति गरेको देख्दा खुसी लाग्छ र विद्यार्थीहरुले यसरी पुस्तक लेखेको देख्दा आफुले लेखेको जस्तो लाग्छ भनी बताएका छन्।उनले भने, ‘समाजमा ज्ञानको उज्यालो चाहिन्छ र त्यो उज्यालो अध्ययन र अनुसन्धानले ल्याउनुपर्छ। सबैले प्रेरणा लिनुपर्छ र उज्यालोलाई निभ्न दिनु हुँदैन। भाषा, साहित्य, कला र संस्कृतिबाट समाजमा उज्यालो छरिरहनुपर्छ।’
उनले आफुलाई दिएको सम्मानको लागि आशिर्वाद दिएको पनि बताएका छन्।
यस लोकार्पण कार्यक्रममा विभिन्न स्थानहरुबाट साहित्यकारहरु, शिक्षक शिक्षिकाहरु र प्राध्यापक प्राध्यपिकाहरु, विद्यार्थीहरु र विभिन्न क्षेत्रका व्यक्तिहरु पनि उपस्थित रहेका थिए।