११ सेप्टेम्बरः विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकले यूएस ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको खिताब जितिन्। सालको अन्तिम टेनिस ग्राण्ड स्ल्यामको फाइनलमा स्वियातेकले ट्यूनिशियाकी ओन्स जेबूरलाई पराजित गरिन्। पोल्याण्डकी २१ वर्षीय खेलाड़ीले फाइनलमा जेबूरलाई सीधा सेटमा ६-२, ७-६-ले पराजित गरिन्। फाइनल म्याचमा जीत हासिल गर्न उनलाई एक घण्टा ५१ मिनट समय लाग्यो। पाँचौं वरीयता प्राप्त जेबुरको यो ग्राण्ड स्ल्याम फाइनलमा यो लगातार दोस्रो हार हो। यसबीच स्वियातेकले चाहिँ पहिलोपल्ट यूएस ओपनको खिताब जितिन्। उनी चौथोपल्ट यस टुर्नामेण्टमा हिस्सा लिइरहेकी थिइन्। यसअघि उनी २०१९-मा दोस्रो, २०२०-मा तेस्रो अनि २०२१-मा चौथो राउण्डसम्म पुगेकी थिइन्। समग्रमा यो उनको तेस्रो ग्राण्ड स्ल्याम खिताब हो। स्वियातेकले २०२०-मा फ्रेञ्च ओपनको रूपमा आफ्नो पहिलो महिला एकल ग्राण्ड स्ल्याम खिताब जितेकी थिइन्। उनले यस साल पनि फ्रेञ्च ओपनको ट्रफी जितेकी थिइन्।
यसपाली फाइनल म्याचमा पनि स्वियातेक च्याम्पियन खेलाड़ी झैं खेलिन् अनि पहिलो सेट सजिलै जितिन्। दोस्रो सेटमा जेबूरले उनलाई कड़ा चुनौती दिइन् तर स्वियातेकले पनि धैर्यको साथ खेल्दै टाईब्रेकरमा दोस्रो सेटसहित म्याच जितिन्। पोल्याण्डकी खेलाड़ीले यस साल ३८ वटा म्याच र सातवटा टुर्नामेण्ट जितिसकेकी छन्। स्वियातेक र जेबूरबीच अहिलेसम्म पाँचपल्ट भिड़न्त भइसकेको छ। यसमा तीनपल्ट स्वियातेकले जीत हासिल गरेकी छन्। यूएस ओपनमा स्वियातेकले फाइनल अघि जेसिका पेगुलालाई क्वार्टर फाइनल अनि आर्यना सबालेंकालाई सेमिफाइनलमा पराजित गरेकी थिइन्। यस सालको शुरुवातमा स्वियातेक डब्ल्यूटीए ऱ्यांकिंगमा नवौं स्थानमा थिइन्। अप्रेलमा उनी विश्वकी नम्बर एक खेलाड़ी बनेकी थिइन्। फरवरीदेखि जुलाईबीच उनले लगातार ३७ वटा म्याच जितिन्। एक्काईसौं शताब्दीको यो लगातार सर्वाधिक म्याच जित्ने विश्व रेकर्ड हो। यस साल स्वियातेकले ६४ वटा म्याच खेलेर ५७ वटा जितेकी छन्। यसबीच उनले दुईवटा ग्राण्ड स्ल्याम खिताब जितिन्।