११ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा शनिवार जम्मा ४ वटा म्याच खेलियो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टको दोस्रो दिन खेलिएको पहिलो म्याचमा बदामताम हाई स्कूलले ज्ञानोदय निकेतनलाई २-०-ले पराजित गऱ्यो। वाङचुक तामाङ र प्रणीत राईले १-१ गोल गरे। प्रतीक सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो।
यसरी नै दोस्रो म्याचमा आरकेएसपी-ले बार्न्सबेग हाई स्कूललाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। बार्न्सबेग हाई स्कूलका अनुज छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। तेस्रो म्याचमा टर्नबूल हाई स्कूलले चैतन्य पब्लिक स्कूललाई ३-०-ले पराजित गऱ्यो। चैतन्य पब्लिक स्कूलका करण थामीलाई प्लेयर अव् द म्याच चयन गरियो।
दिनको चौथो म्याचमा सेण्ट माइकल्स हायर सेकेण्डरी स्कूलले सेक्रेड हार्ट पोख्रेबुङलाई ३-०-ले पराजित गऱ्यो। म्याचमा आदित्य देवान र प्रणाम थापाले गोल गरे। एक गोल आत्मघाती रह्यो। सेक्रेड हार्ट स्कूलका गोलकीपर राहुल दर्नाललाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिएको पाँचौं तथा अन्तिम म्याचमा नोट्रे डेम एकाडमीले दार्जीलिङ गवर्नमेण्ट हाई स्कूललाई ४-१-ले पराजित गऱ्यो।

विजेता टीमबाट अवन छेत्रीले टुर्नामेण्टमा पहिलो ह्याट्रिक गरे। यसबाहेक सैयम गुरुङले १ गोल गरे। विपक्षी टीमबाट एकमात्र गोल सञ्जय थामीले छिराए। सञ्जय थामीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। यी २० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।