राजधानीमा वनस्पति वर्गिकरण प्रशिक्षण कार्यक्रम

IMG-20250412-WA0248

गान्तोक: भारत सरकारको पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय अन्तर्गत शीर्ष अनुसन्धान सङ्गठन रहेको भारतीय वनस्पति सर्वेक्षण (बीएसआइ) द्वारा ११ अप्रेलको दिन वनस्पति वर्गिकरण, सङ्ग्रह तकनिकी तथा वनस्पतिको पहिचान सम्बन्धी स्थल आधारित व्यावहारिक प्रशिक्षण आयोजित गरियो। क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान भारतीय अलैंची अनुसन्धान संस्थान, मसला बोर्ड, नामग्याल इन्स्टिट्युट अव् टिबोटोलजी, सिक्किम विश्वविद्यालय, नरबहादुर भण्डारी सरकारी महाविद्यालय (एनबीबीजीसी), गौरबङ्ग विश्वविद्यालय तथा जीबी पन्त राष्ट्रिय हिमाली पर्यावरण संस्थान (जीबीएनआइएचई) जस्ता संस्थाका २४ जना प्रतिभागी यस प्रशिक्षण कार्यक्रममा सहभागी थिए। परिचयात्मक कार्यक्रममा मुख्य अतिथिका रूपमा आकाशवाणी गान्तोकका सहायक निर्देशक मानसप्रतीम शर्मा उपस्थित थिए। मुख्य अतिथिका साथै प्रतिभागीहरूलाई कार्यालय प्रमुख तथा आयोजक सचिव डा. राजीव गोगोईले स्वागत जनाए। विज्ञानका साथै राष्ट्र निर्माणमा वर्गिकरणको महत्त्वबारे उनले जानकारी दिए। यसका साथै उनले वर्गिकरण वैज्ञानिकबारे आफ्नो अनुभवका साथमा सिक्किमको वनस्पति इतिहासबारे अवगत गराए। विश्वभरी शास्त्रीय वर्गिकरण वैज्ञानिकको कमीबारे वर्तमान प्रवृत्तिबारे पनि उनले उल्लेख गरे। बीएसआइका वैज्ञानिक डा. जेएच फ्रेङ्कलिनले वनस्पतिको वर्गिकरणबारे परिचयात्मक व्याख्यान दिएपछि वैज्ञानिक डा. मोनालिसा डेले लिभरवर्टको पहिचान तथा वर्गिकरणबारे व्याख्यान दिए। व्याख्यानपछि सबै प्रतिभागीलाई वनस्पतिको सङ्ग्रह प्रक्रियाबारे व्यावहारिक जानकारी प्रदान गरियो। वनस्पति सहायक डा. बसन्तकुमार सिंह र परिरक्षण सहायक नर्बु शेर्पाले स्थलगत रूपमा वनस्पति सङ्कलनको विधि, फील्डबुकमा दर्ता गर्नुपर्ने कथन तथा प्रजातिलाई दिनुपर्ने स्थलगत सङ्ख्याको प्रक्रियाबारे प्रतिभागीहरूलाई प्रदर्शित गरी देखाए। प्रतिभागीहरूलाई व्यक्तिगत रूपमा फूल फुल्ने बोट-बिरुवा सङ्कलन गर्न प्रोत्साहित गरियो। पछि, वनस्पति सङ्ग्रहमा सङ्कलित वनस्पतिहरूको प्रसंस्करणबारे प्रदर्शित गरी देखाइयो। प्रतिभागीहरूलाई दुईवटा वनस्पति जस्तै रोडोडेन्ड्रन आर्बोरियम र रोडोडेन्ड्रन फरमोसम प्रत्यक्ष चिरेर देखाउनका साथै चिरिएका वनस्पतिको लक्षण वर्णन तथा ती लक्षणका साथ वनस्पतिको पहिचान गर्ने विषयमा जानकारी गराइयो। समापन कार्यक्रममा मसला बोर्ड, आइसीआरआइका प्रभारी डा. टीकेन्द्रनाथ डेका मुख्य अतिथिका रूपमा उपस्थित थिए। प्रतिभागीहरूलाई यसपछि प्रमाणपत्र प्रदान गरियो भने उनीहरूले यस एकदिने प्रशिक्षण कार्यक्रम आफ्नो शैक्षणिक/ अनुसन्धानका लागि लाभदायक साबित हुने बताउँदै बीएसआइद्वारा आयोजन गरी यस्ता भावी कार्यक्रममा पनि सहभागी बन्ने इच्छा व्यक्त गरे। डा. बसन्त सिंहले कार्यक्रम सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन डा. मोनालिसा डेले प्रस्तुत गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement