गान्तोक: डेन्जोङ शेर्पा संघले संगठनात्मक विषयहरूमा छलफल गर्न आज राजधानी गान्तोकमा एक आकस्मिक बैठक सम्पन्न गऱ्यो। बैठकमा विस्तृत रुपमा विचार विमर्श पश्चात् सभाले विभिन्न प्रस्ताव पारित गरेको छ। हालसम्म संघको केन्द्रीय कार्यकारिणी समितिको नेतृत्व दोर्जे शेर्पा पिनासाले गर्दै आएका थिए। आजको बैठकले पूरानो समितिलाई विघटन गरेको छ। उक्त पूरानो समितिको कार्यकाल केही महिना अगाडि नै समाप्त भइसकेको हुँदा संघले नयाँ कार्यकारिणी समिति गठनको प्रक्रिया शुरु गरेको हो। यसअन्तर्गत संघलाई नवीकरणसंगै थप ऊर्जाशील र समावेशी नेतृत्व गठन सुनिश्चित गर्ने निर्णय लिइएको हो। बैठकले बोजोघारी निवासी साङ्गे शेर्पालाई संघको कार्यवाहक अध्यक्षको रूपमा मनोनयन गरेको छ। आगामी निर्वाचनसम्म साङ्गे शेर्पा नै कार्यवाहक अध्यक्षको रुपमा रहने निर्णय भएको छ। गठित तदर्थ समितिमा प्रशासक पीएन शेर्पा, कानुनी सल्लाहकार याङ्गी शेर्पा, जिल्ला समन्वयकहरूमा गान्तोकका डुप छिरिङ शेर्पा, पाकिमबाट सोनाम शेर्पा, नाम्चीबाट छोग्याल शेर्पा, गेजिङबाट पेमा वाङछुक शेर्पा, मंगनबाट छेवाङ नोर्बु शेर्पा र सोरेङबाट राप्देन शेर्पालाई मनोनित गरेको छ। संघले निवर्तमान समितिप्रति सम्मान प्रकट गर्दै समुदायको सशक्तिकरण र कल्याणमा पुऱ्याएको योगदानका लागि आभार व्यक्त गरेको छ। डेन्जोङ शेर्पा संघले समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक उन्नतिका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ।