दमयन्ती मैनाली फयेल, ढेकियाजुली, शोणितपुर, असम
‘आज … मेरो छोराको मृत्यु वार्षिकी गरेर बुहारीले पतिको कर्तव्य पुरा गरिन्। विवाहको तीन महिना नपुग्दै विधवा हुनु उनको दुर्भाग्य हो! यो मेरो छोराले जीवनप्रति गरेको लापरवाहीको परिणाम हो! मद्यपानको परिणाम हो! छोराको गलतीको सजाय म उनलाई दिन चाहान्न। उपयुक्त पात्र पाए छोरी बनाएर दाइजोसहित्यै म बिहे गरिदिन्छु। हजुरहरुको नजरमा ईमानदार, जाड-रक्सी नपिउने केटो भए कुरो चलाउनु होस्। छोरो त बिदा भयो…. अब बुहारीको हातमा जिम्मेवारी सुम्पिन पाए म ढुक्क हुन्थे!!’
हाथ जोड्दै मायादेवीले भनेको यी कुरा सुनेर सबैले उनको सोचलाई वाह! वाह! गरे। आज उनको मन हल्का भयो। बुहारीलाई नसोधी यसरी भन्नु उनको बाध्यता थियो। एक सप्ताहपछि राघव र आमा आए। राघव गाउँको पढेलेखेको गरीब केटो हो। मायादेवीले उनीहरूलाई बैठक कोठमा बसाएर भनिन्- ‘भन्नुहोस्… के काममा आउनु भयो….?’
‘छोराको लागि हजुरकी छोरी माग्न आएकी हजुर।‘
‘यो कुरा राघवको मुखबाट सुन्न चाहान्छु।’ मायादेवीले भनिन्।
‘हो हजुर! धेरै सोचेर यो निर्णय लिएर आएका।’
‘बिधवा बिहे गर्दा समाजले स्वीकार गर्छ? कतिले के के भन्लान सोचनु भएको छ?’
‘जसरी समाजले स्वास्नीको मृत्युपछि अर्को विवाह स्वीकार गर्छ, विधवा विवाह पनि स्वीकार गर्न बाध्य हुनुपर्छ। श्रीमानको मृत्युपछि उनकी पत्नीचाहिँ अपराधीझैँ जीउन बाध्य हुन्छिन्, किनकि न त कुनै सासूले बुहारीको कन्यादान गर्ने साहस गरेँ न समाजले गर्छ! न कुनै व्यक्तिले विधवा बिहे गर्छु भन्ने आँट गर्छ! मेरो साहस छ, सम्पत्ति त यी दुई हाथ हुन्।’
मायादेवीको चित्त बुझ्यो। उनले किचेनतिर हेरेर कराइन्, ‘आशा… ! ए आशा…! एकछिन एता आऊ!’
‘हजुर आमा …!’
‘यहाँ राघव र यहाँ उहाँकी आमा, तिमीलाई बुहारी बनाउने भनेर आउनु भएको। तिमीले भनेऊ भने कुरा पक्का गर्छु।’
राघवको कुरा आशाले पनि नसुनेकी होइनन्। यस्ता स्वाभिमानी केटासँग बिहे गरे बिहेपछि पनि सासूआमालाई सँगैराख्ने उनको धोको पक्कै पुरा हुन्छ! उनले अघि सरेर भनिन्-
‘म आमालाई छोडेर बिहे गर्दिन…. मलाई आमाको बुढेसकालको सहारा बन्नु छ।’
‘यो दुइटै दायित्व म निभाउन तैयार छु! आमा! हजुर के भन्नु हुन्छ?’ राघवले आमालाई सोध्यो।
‘कति एक्लै बस्नु? चारजनाको परिवार पाए मचाहिँ खुशी हुन्न र?’
‘लौत, आजै बिहेको तारिख पक्का गरौँ। आशा! चिया-मिठाई लिएर आऊ।’
कोठामा बिहेको सल्लाह सुनिन थाल्यो..।