तीनधारे: खरसाङ महकुमा अन्तर्गत तीनधारेको गैरी गाउँ र पुरानो अस्पताल क्षेत्रको लामपाते गैरीमा अवस्थित हनुमान मन्दिरमा हनुमान जयन्ती पालन गरिएको छ। उक्त हनुमान जयन्ती कार्यक्रम गत वर्ष रामनगरी अयोध्याबाट ल्याइएको पवित्र कलशको पूजा अर्चना गरेपछि श्रीगणेश गरिएको छ। यस अवसरमा स्थानीयहरुले हनुमान मन्दिरमा रहेको हनुमानको मूर्तिमा पूजा अर्चना गरेका थिए भने स्थानीय पुजारीले पूजा अर्चनाको अगुवाई गरेका थिए। तीनधारेको लामपाते गैरीमा अवस्थित हनुमान मन्दिर स्थानीय यम शंकर प्रधानको पहलमा र तत्परतामा साथै अन्य सहयोगी हातहरुको अर्थ संग्रहमा सन् २०१५ मा स्थापना गरिएको थियो। यस क्षेत्रमा बारम्बर दुर्घटना हुने गरेको समय यहाँ हनुमान मन्दिर स्थापना गरिएपछि दुर्घटना कम भएको जन विश्वास छ।

यस मन्दिर क्षेत्रमा घैयाबारी ग्राम पञ्चायत दुईको तर्फबाट विश्राम गृह र स्ट्रिट लाइट जडान गरिएपछि स्थानीय मन्दिर कमिटीको तर्फबाट आभार प्रकट गरिएको थियो। यसको साथै यस मन्दिरको निर्माण कार्यमा सहयोग गर्ने सबैप्रति यम शंकर प्रधानले आभार प्रकट गरेका छन्। यस हनुमान जयन्ती विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीय रवि सुब्बा र यम शंकर प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।