गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज पाकिम जिल्लाअन्तर्गत विभिन्न स्थानको भ्रमण गरे। भ्रमणको क्रममा शिक्षा विभाग मन्त्री राजु बस्नेत, जिल्लापाल रोहन अगवाने, पुलिस अधिक्षक, अतिरिक्त जिल्लापाल लगायत अन्य अधिकारीहरू सामेल रहेका थिए। यस अवसरमा राज्यपालले पाकिम जिल्लाको रूरवन कम्पलेक्समा आयोजित जिल्ला समन्वय समितिको सभामा पनि उपस्थिति जनाए। उक्त कार्यक्रममा राज्यपालले केन्द्र र राज्यका विभिन्न विकास परियोजना र योजनाहरूको समीक्षा गरे। यस अवधिमा शिक्षा, कृषि तथा बागवानी, विद्युत, स्वास्थ्य र ग्रामीण विकास विभागले पावर पोइन्ट पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा उक्त योजनाहरूको कार्यन्वयन र प्रगतिमाथि प्रकाश पारेका थिए। राज्यपालले केन्द्र सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाहरूको समीक्षा गर्दै विकासका कार्यहरूलाई शीघ्र पुरा गर्नुपर्ने विषयमाथि जोड दिए। उनले पूर्वाधारलाई सुदृढ पार्ने र विशेष गरेर ग्रामीण क्षेत्रका स्थानीय समुदायहरूलाई सशक्त बनाउने आवश्यकतामा जोड दिए। कार्यक्रममा क्षयरोग मुक्त सिक्किम जस्ता स्वास्थ्य योजनाहरू, आत्महत्या र नशालु पदार्थ सम्बन्धी विषयमाथि छलफल गरियो। यो समस्या समाधान गर्न समाजका प्रत्येक नागरिक सचेत हुनुपर्नेमा जोड दिए। यसका साथै राज्यपालले पिउने पानीको व्यवस्था, विद्यार्थीहरूले विद्यालय छोडेनेसमस्या, कृषि विज्ञान केन्द्रको स्थापना आदि विषयमा पनि उल्लेख गरे। यस अवधिमा सिक्किमको एकमात्र विमानस्थलसँग सम्बन्धित चुनौतीमाथि पनि व्यापकरूपमा चर्चा परिचर्चा गरियो। राज्यपालले आफ्नो सम्बोधनमा जनताका समस्याहरूलाई प्राथमिकता दिनुपर्ने साथै यसको निम्ति प्रत्यक्षरूपमा संवाद गर्नुपर्ने सुझाउ दिए। उनले सरकारी योजनाहरूको लाभ प्रत्येक नागरिकसम्म पुग्नुपर्ने बताए। यस क्रममा राज्यपालले स्थानीय किसान धनपति सापकोटाको कृषि फार्मको पनि भ्रमण गरे। उनले कृषकहरूद्वारपा गरिएको प्रयासको प्रशंसा गर्दै सम्बन्धित अधिकारीहरूले कृषकहरूलाई सहयोग प्रदान गर्नुपर्ने विषयमाथि जोड दिए। यस क्रममा राज्यपालले शिक्षा मन्त्रीसँग सिलाई युनिट सञ्चालनबारे चर्चा गर्दै स्वयं सहायता समूहका महिलाहरूसँग भेट गर्दै अन्तक्रिया पनि गरेका थिए।