खरसाङ: सिटोङ निवासी समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राईको जन्मोत्सवको अवसरमा पुस्तक लोकार्पणसहित म्युजिक भिडियो लोकार्पण र सम्मान कार्यक्रम सम्पन्न भएको छ। सिटोङ फिल्म प्रोडक्शन र इजा प्रकाशनको आयोजनामा सम्पन्न उक्त कार्यक्रम सिलगढीको खोप्रेल रोडस्थित रघुकुल भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता डा महेश दाहालले गरेका थिए भने प्रमुख अतिथिको रूपमा हुँ केयर्सका प्रमुख एरोन योञ्जन उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरुमा बलिवुडका गायिका प्रिया भट्टाचार्य, टलिवुडका गायक एंव नायक साहेब चट्टोपाध्याय, वरिष्ठ साहित्यकार अमला सुब्बा, पर्यावरण संरक्षक विश्वजीत शाह, पर्यटन व्यवसायी जितु गिरी, नरेन्द्र तामाङ आदि उपस्थित रहेका थिए। बबिता मादेनले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण इजा प्रकाशनकी मञ्जुला तामाङ सुब्बाले राखेकी थिइन्। कार्यक्रमको उद्देश्य र औचित्य विषयमा मैतराज राणाले वक्तव्य राख्दै समाजसेवी बिक्रम राईको जन्मोत्सवको अवसरमा विभिन्न व्यक्ति विशेषहरुलाई सम्मान जनाउने कार्यक्रम रहेको बताएका छन्। उनले भने, ‘यो कार्यक्रमको उद्देश्य जहाँ अँध्यारो छ त्यहाँ उज्यालो छर्नु हो किनभने समाजसेवी बिक्रम राईले आफ्नो कमाईको अस्सी प्रतिशत भाग गरीब -दु:खी र असहायहरुलाई सहयोग गरेका छन्। बिक्रम राईको कर्मलाई सलाम छ। उनको जन्मोत्सव त बहाना हो तर उनको आँखाले देखेका सर्जक स्रष्टाहरु, कलाकारहरु र पत्रकारहरुलाई सम्मान जनाउनु नै कार्यक्रमको मूल उद्देश्य हो।’

कार्यक्रमको शुरुमा मञ्जुला तामाङ सुब्बाद्वारा लिखित मुक्तक संग्रह ‘अक्षर तरंग’ लोकार्पण गरियो। कार्यक्रममा कुशल दार्जिलिङ र अरुण खवासले समाजसेवी बिक्रम राईमाथि लेखिएको कविता वाचन गरेका थिए। कार्यक्रममा सिटोङबाट जी बंगला सारेगमामा पुगेका दिवाकर खवासलाई पनि सम्मान जनाइएको छ। यस अवसरमा उनले गीत पनि प्रस्तुत गरेका थिए यसै कार्यक्रममा समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राईको ५५औं जन्मोत्सव केक काटेर मनाइएको छ। यसै कार्यक्रममा समाजसेवी बिक्रम राईसित सम्बन्धित म्युजिक भिडियो ‘जहाँ छ अँध्यारो’ को पनि लोकार्पण गरिएको छ। उक्त गीतलाई बलिवुडकी गायिका प्रिया भट्टाचार्यले स्वर दिएकी छन् भने शब्द मैतराज राणाको रहेको छ। यसै कार्यक्रममा विभिन्न क्षेत्रहरूमा योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाइएको छ। यस क्रममा श्याम ब्रदर्शका संस्थापक सावर अग्रवाल, पत्रकार सञ्जय अग्रवाल, बिजय काँफ्ले, शान्ति लामा, साहित्यकार सञ्जीव छेत्री, कवि एंव पत्रकार हनोक थापा, सुशिल सुब्बा, साहित्यकार एंव पत्रकार प्रकाश हाङखिम, साहित्यकार निरज थापा, आदर्श मंगर आदिलाई सम्मान जनाइएको छ। यस अवसरमा सबैलाई खदार्पणसहित शल ओढाएर,फूल गुच्छा, नेपाली टोपी पहिराएर साथै स्मृति चिन्ह र सम्मान पत्रद्वारा सम्मानित गरिएको छ। यसको साथै विभिन्न समाजहरुलाई पनि सम्मान जनाइएको छ। यसको साथै कार्यक्रममा उपस्थित सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरुलाई पनि समाजसेवी बिक्रम राईको बाहुलीबाट सम्मान जनाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी बिक्रम राईले आफ्नो जन्मोत्सव साथै सम्मान कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्। उनले भने, म आफ्नो जन्मदिन यसरी मनाउन तेति मन लाग्दैन तर तपाईहरु सबैले मेरो जन्मदिनमा शुभकामना दिनु भएको छ र मलाई मेरो जन्मदिन स्पेशल बनाई दिनु भएको छ। म मेरो जन्मदिन गरीब दु:खी र असहायहरुको माझमा रहेर मनाउन मन पर्छ।’
उनले अघि भने, ‘आफुले धेरै सहयोगको कार्य गर्दै आईरहेको जतिबेला पहाडमा अभिभावक थिएन। तरर अहिले पहाडमा जीटीए बनिएको छ। पञ्चायत व्यवस्था छ। अहिले म सामाजिक सञ्जालमा तेति आउन मन गर्दिन।’

बिक्रम राईले आफ्नो सम्बोधनमा सबै सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रमलाई पर्यावरण संरक्षक विश्वजीत शाह, टलिवुडमा गायक एंव नायक साहेब चट्टोपाध्याय प्रमुख अतिथि हुँ केयर्सका प्रमुख एरोन योञ्जन, सभाध्यक्ष डा महेश दाहाल आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा प्रसिद्ध गायिका प्रिया भट्टाचार्यले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन आयोजक समितिको तर्फबाट अनिल मंगरले राखेका थिए।