बेंगलुरु: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को २४औं म्याचमा दिल्ली क्यापिटल्सले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई ६ विकेटले पराजित गऱ्यो। लगातार चौथो जीतको साथ दिल्ली क्यापिटल्स ८ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलमा गुजरात टाइटन्सपछि दोस्रो स्थानमा रहन पुग्यो। यसरी ५ वटा म्याच खेलेर दोस्रोपल्ट हारको सम्मुखीन हुने आरसीबी ६ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। बिहीवार एम चिन्नास्वामी स्टेडियममा आरसीबी-ले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो। फिल सल्टले ४ वटा चौका र ३ वटा छक्काको साथ १७ बलमा ३७ रन बनाएर असल शुरुवात दिलाए पनि पछिबाट लगातार विकेटको पतन हुँदा आरसीबी-ले तेजीको साथ रन बनाउन सकेन। सल्टले विराट कोहलीसँग ३.५ ओभरमै ६१ रनको ओपनिंग पार्टनरशीप गरे पनि आरसीबी-ले एक समय १२५ रनमा ७ विकेट गुमाइसकेको थियो। त्यहाँबाट टिम डेविडले तेजीको साथ रन बनाएर टीमलाई हेर्न लायकको स्कोरसम्म पुऱ्याए। डेविडले ४ वटा छक्का र २ वटा चौकाको साथ २० बल खेलेर अविजित ३७ रन बनाए। यसबाहेक कोहलीले २२ र कप्तान रजत पाटीदारले २५ रनको योगदान दिए। देवदत्त पडिक्कल १, लियाम लिविंगस्टोन ४ र जितेश शर्मा ३ रन बनाएर आउट भए। दिल्लीका बलरहरूमा विपराज निगम र कुलदीप यादवले २-२ विकेट लिए। त्यसपछि १६४ रनको लक्ष्यलाई अघि राखेर खेल्दै दिल्ली क्यापिटल्सले निराशाजनक शुरुवातपछि केएल राहुलको उत्कृष्ट ब्याटिंगको सहायताले १७.५ ओभरमा ४ विकेटमा १६९ रन बनाएर म्याच जित्यो। एक समय दिल्लीले केवल ५८ रनमा शीर्ष ४ विकेट गुमाइसकेको थियो। त्यहाँबाट राहुलले ट्रिस्टन स्टब्ससँग पाँचौं विकेटको निम्ति ५५ बलमा १११ रनको अटूट पार्टनरशीप गरेर टीमलाई जीत दिलाए। राहुलले ८ वटा चौका र ६ वटा छक्काको साथ ५३ बलमा अविजित ९३ रन बनाए। यसरी स्टब्सले २३ बलमा ४ वटा चौका र एउटा छक्काको साथ अविजित ३८ रन बनाए। आरसीबी-का बलरहरूमा भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए।