गान्तोक: तिमी टी. बोर्डका नवनियुक्त अध्यक्ष आरके वालिङले आजदेखि आधिकारिक रुपमा आफ्नो पदभार सम्हाले। कार्यभार सम्हाल्ने क्रममा राईले कार्यालयमा पूजा गरेर जिम्मेवारी ग्रहण गरे। उक्त अवसरमा प्रबन्धक निर्देशक राधा प्रधान लगायत अन्यले स्वागत जनाए। यसबीच उपस्थित सबैले सफल कार्यकालको शुभकामना दिए। प्रबन्धन पक्षबाट उनको आधिकारिक स्वागतको लागि कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री प्रेमसिँह तामाङले आफूमाथि विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिएएको बताउँदै कृतज्ञता प्रकट गरे। जिम्मेवारीलाई पूरा गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। तिमी चियाको गरीमालाई अझ बढ़ाएर लैजानको निम्ति प्रबन्धन पक्षसँग हरसम्भव सहकार्य गर्ने पनि उनले कटिबद्धता व्यक्त गरे। यसअवधि प्रबन्धन पक्ष साथै सबै अधिकारी अनि कर्मचारीहरूबीच पनि उनले सबै प्रकारको सहयोग र साथको अपेक्षा राख्दै सबैको सहकार्यमा काम गर्ने विश्वास दिलाए। सिक्किमको एकमात्र प्रतिष्ठित चिया बगानलाई यहाँसम्म ल्याउन यसअघि कार्यरत सबै अध्यक्ष लगायत अन्य अधिकारीहरूलाई धन्यवाद दिए। तिमी चियाको गरीमालाई कहिल्यै घट्न नदिने उनले प्रतिबद्धता जाहेर गरे। सबै तहको कर्मचारीहरूको दुखेसो अनि समस्यालाई सुल्झाउन आफू सदैव तत्पर रहने वचन दिए। आगामी दिनहरूमा प्रबन्ध पक्षसँग बसेर प्रभावी कार्यनीति बनाउन रोडम्याप तयार गर्ने बताए। आधिकारिकरूपमा जिम्मेवारी ग्रहण गरेपछि नवनियुक्त अध्यक्ष वालिङले चिया कारखानाको भ्रमण गरे।