गेजिङ: लिङ्गचोम वरिष्ठ माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती समारोहअन्तर्गत आज नवौं दिनको अवसरमा गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डेन्जोङ्पा सामेल भए। यस अवसरमा जिल्लापाल लगायत गेजिङ जिल्ला पुलिस अधीक्षक छिरिङ शेर्पा, विभिन्न विभागका प्रमुखहरू, नगर पञ्चायतका पार्षदहरू, शिक्षक-शिक्षिका, अभिभावक तथा स्थानीय नागरिकहरुको बाक्लो सहभागिता थियो। कार्यक्रममा शिक्षा विभागका निर्देशक डा. राजेश थापाले विद्यालयको विगतदेखि वर्तमानसम्मको संक्षिप्त परिचय प्रस्तुत गर्दै शिक्षा प्रणालीमा भइरहेको परिवर्तन तथा सुधारमाथि प्रकास पारे। उनले डिजिटल शिक्षाको महत्व, प्रविधिको प्रयोग र शिक्षण शैलीमा विविधता ल्याउनुपर्ने आवश्यकतामाथि प्रकाश पारे। जिल्लाधीश डेन्जोङ्पाले आफ्नो सम्बोधनमा विद्यालयले गरेका योगदानबारे प्रकास पारे। उनले शिक्षा क्षेत्रलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाउँदै स्थानीय प्रशासनको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जाहेर गरे। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यालयका प्रधान अध्यापक याङ्देन सिप्मोले विद्यालयको भावी योजनाबारे जानकारी गराएकी थिइन्। यस वर्ष विद्यालयले आफ्नो ७५ वर्षेको यात्रामा प्राप्त उपलब्धिहरूलाई स्मरण गर्दै, गुणस्तरीय शिक्षा र समग्र व्यक्तित्व विकासमा अझ बढी केन्द्रित हुने प्रतिबद्धता जनाइन्। कौस्तुभ जयन्ती समारोहले विद्यालयलाई मात्र नभएर सम्पूर्ण लिङ्गचोम क्षेत्रलाई एकताबद्ध बनाएको जुन प्रेरणादायी बनेको उल्लेख गरिन्। कार्यक्रममा अन्तर विद्यालय महिला फुटबल खेलसंगै खुल्ला पुरुष फुटबल खेल सम्पन्न भयो।