गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा तथा कवि पवन चामलिङ काठमाड़ौंमा सम्मानित भएको छन्। नेपाली साहित्यका महान् स्रष्टा पारिजातको स्मृतिमा वि सं २०५० मा स्थापित पारिजात स्मृति केन्द्रले उनलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान जनाएको हो। नेपाली जाति,भाषा- संस्कृति र साहित्यको उन्नयनका निम्ति सिर्जनात्मक रूपमा निरन्तर सक्रिय रहेर सेवा पुर्याउनका साथै साहित्यकार पारिजातका समग्र रचनाहरूको ग्रन्थ प्रकाशन गरिएको उल्लेखनीय योगदानलाई कदर गर्दै यस संस्थाले उनलाई पारिजात विशिष्ट सम्मान अपर्ण गरेको हो। पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी र संरक्षक तथा पारजातकी बहिनी सुकन्या वाइबाको बाहुलीबाट समृति चिन्ह र दोसल्ला चढाएर पवन चामलिङलाई सम्मान जनाए। यस कार्यक्रममा डा महेश मास्केले पवन चामलिङको राजनीतिक व्यक्तित्वलाई प्रकाश पारे। यसरी नै चिन्तक निनु चापागाईले पवन चामलिङको साहित्यिक व्यक्तित्वमाथि आफ्नो मन्तव्य राखे। पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न यस सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ प्रगतिवादी कवि कुन्ता शर्मा, विशिष्ठ अतिथिका रूपमा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका कुलपति रायन, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय उपस्थित थिए। आज सम्पन्न भएको सम्मान कार्यक्रममा चामलिङले भने, पारिजात नेपाली साहित्यमा एक यशश्वी नाम हो। नेपाली साहित्यका विराट व्यक्तित्व। जसको चर्चा र उल्लेखबिना आधुनिक नेपाली साहित्य अधुरो रहनेछ। साँच्चै भन्नु हो भने जसको चर्चाबिना आधुनिक नेपाली साहित्यको इतिहास नै सम्भव छैन भन्ने विचार साझा गर्दै यस पुनित अवसरमा श्रद्धेय साहित्यकार पारिजातप्रति हार्दिक श्रद्धासुमन अर्पण गरे। यसरी नै उनले आफ्नो सम्बोधनमा अझ भनेअनुसार हामी महान् व्यक्तिहरूको सम्झना गर्दछौं, पूजा-अर्चना गर्दछौं। वीर पुरुषहरूका कीर्तित्वलाई आदर्श बनाउने कामना राख्दछौं। हाम्रो समाजमा यसप्रकारका आदर्शहरू परम्परा बनेर रहेका उदाहरणहरू पनि छन्। उनले पारिजातका जीवन र कीर्ति सचेत एवम् अग्रगामी जीवन मूल्यका आदर्शहरू रहेको भन्दै यहाँबाट केवल हामी अग्रगामी युगको कामना गर्दछौं भन्ने कुरामा जोर दिए। साहित्यकार पारिजातले नेपाली साहित्यमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै उनले आफ्नो सम्पूर्ण जीवन साहित्य सिर्जनामा समर्पण गरेको स्मरण गराए। उपन्यास, कथा, लेख, संस्मरण, नाटक, कविता सबै विधाकारचनाहरू हामीले उहाँबाट पाएका छौं। यी नेपाली साहित्य र नेपाली समाजका अमूल्य कुँजीहरू हुन्, चामलिङले भने।

साहित्यकार पारिजातमाथि विस्तृत रूपमा आफ्ना विचार राख्दै चामलिङले अझ भने, ‘पारिजातबाट हामीले धेरै कुरो सिक्न सक्छौं, जीवनमा प्रेरणा लिन सक्छौं। कठोर समय, प्रतिकुल परिस्थितिहरूमा पनि पारिजातले कदापि सम्झौता गरिनन्। जनताका पक्षमा उनी सधैं खड़ा रहिन्। उनले संघर्ष गर्नुभएको समय मुक्त र स्वतन्त्र थिएन। जनपक्षीय व्यवस्थाको वातावरण थिएन। जटिल र प्रतिकुल परिवेशसँग लड़्नुपर्ने समय थियो। त्यस विकट परिस्थितिमा पनि राजनैतिक, वैचारिक, सैद्धान्तिक संघर्ष र लड़ाइँ जारी राखिन्। स्वार्थ, प्रलोभन, पद, मोहले उहाँलाई कहिले पनि सङ्कुचित र नियन्त्रित गर्नसकेन भन्दै सैद्धान्तिक किल्लाभित्र संधै दुश्मन-मित्रको लड़ाइँ जारी राखेको बताए। जीवन मृत्युको संघर्ष सधैं कायम राखेको भन्दै विषम परिस्थितिबीच पनि संघर्षपूर्ण युद्ध गरिरहनुहुने अटल योद्धा पारिजात कहिले आफ्नो बाटोबाट अलग नभएको विचार प्रकट गरे। सम्बोधनका क्रममा चामलिङले पारिजातले केवल लैङ्गिक समानताका दृष्टिले मात्र नभई समाजका एक उत्पीड़ित वर्गका रूपमा नारीप्रति विशेष प्रेम र सरोकार राखेको, उत्पीड़ित समाजको उत्पीडित वर्गको उत्पीड़ित सदस्यको रूपमा नारी जीवनको लाञ्छित दशाप्रति सहभावहरू प्रकट गर्ने गरेको विषयलाई पनि प्रकाश पारे। यही क्रममा उनले नारी मुक्तिको आवाजलाई उठाउँदै सामाजिक जागरण, चेतना र शिक्षाको आवश्यकतालाई पारिजातले बोध गराएको बताए।









