गान्तोक: पूर्वोत्तर क्षेत्रका लागि आइसीएआर अनुसन्धान परिसर, सिक्किम केन्द्र, तादोङद्वारा आइसीएआर-केभीके, रानीपुलको सहयोगमा कन्ये अनि शिताके च्याउबारे तीनदिने प्रशिक्षण एवं अध्ययन भ्रमण आयोजित गरियो। पूर्व सिक्किमको नामराङ अनि रूम्तेकका सत्तरजना कृषकले यस प्रशिक्षणमा भाग लिएका थिए। च्याउ खेतीबारे प्राविधिक ज्ञानमा सुधारका साथै काठको मुडामा शिताके च्याउको खेती गर्ने विधिलाई लोकप्रिय बनाउनु यस कार्यक्रमको लक्ष्य रहेको थियो। कार्यक्रमको नेतृत्त्व वरिष्ठ वैज्ञानिक एवं पीआइ डा. छिरिङ ल्हमू भोटियाद्वारा तथा समन्वयन आइसीएआर-केभीके, रानीपुलका वरिष्ठ प्राविधिक अधिकारी अनुश्री गोगोईद्वारा गरिएको थियो। पहिलो दिनको कार्यक्रममा मानव आहारमा च्याउको महत्त्व, भारतमा खेती गरिने च्याउका प्रकार तथा कन्ये च्याउको खेती एवं प्रबन्धनबारे व्यावहारिक प्रदर्शनी सामेल थियो। दोस्रो दिनको कार्यक्रममा शिताके च्याउको खेती, मूल्य अभिवृद्धि तथा व्यावहारिक प्रदर्शनी सामेल थियो। तेस्रो दिन कृषकहरूलाई पूर्व सिक्किमको रूम्तेकस्थित आनन्द प्रधानको शिताके च्याउ फार्ममा अध्ययन भ्रमण गराउँदै काठको मुडामा शिताके च्याउको खेतीबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो। प्रशिक्षणमा सहभागी कृषकहरूलाई कन्ये च्याउको खेतीका लागि च्याउको बिउ तथा पोलिथिनको थैली वितरण गरियो।