बिधायक निरज जिम्बाबाट बृद्ध दुर्गा छेत्रीलाई घर निर्माण र आजीवन बृद्ध भत्ता प्रदान

IMG-20250409-WA0298

दार्जिलिङ: दार्जीलिङ विधानसभा क्षेत्रका बिधायक निरज जिम्बाले आफ्नो निजी कोषबाट सामाजिक सेवाका कार्यहरूलाई निरन्तरता दिँदै जनकल्याणका दृष्टान्तहरू स्थापित गर्दै आइरहेका छन्।
यसै क्रममा, चुङथुङ मेरिबुङ समष्टिको रामजी दोकान डाँडामा बसोबास गर्दै आएकी बृद्ध दुर्गा छेत्रीको जीवनमा एक उज्यालो परिवर्तन भएको छ। विगतमा घरको अत्यन्तै नाजुक अवस्थाले कष्टकर जीवन बाँचिरहेकी दुर्गा छेत्रीलाई सघाउन बिधायक जिम्बाले विगत वर्ष घर निर्माण गरिदिने र आजीवन बृद्ध भत्ता प्रदान गर्ने वचन दिएका थिए। सोही वचनलाई व्यवहारमा रुपान्तरण गर्दै उनले उक्त घरको पूर्ण निर्माण सम्पन्न गरी विधिवत रूपमा उद्घाटन गरेका छन्।
यसअघि पनि बिधायक जिम्बाले दुर्गा छेत्रीलाई एक वर्षको बृद्ध भत्ता हस्तान्तरण गरिसकेका थिए भने यसपटक २०२५ सालसम्मको एक वर्षको भत्ता प्रदान गरिएको छ। साथै, लत्ताकपडा र आवश्यक सामग्रीसमेत हस्तान्तरण गरिएको छ।
स्थानीय सुखिया पोखरी निवासी गोरानासं सदस्य निलु सुब्बाको सक्रिय पहलमा यस मानवीय सेवाको सुरुवात भएको हो। निलु सुब्बाले जानकारी गराए अनुसार दुर्गा छेत्री बोल्न नसक्ने अवस्था र कठिन जीवन गुजारिरहेकी थिइन। कुनै सहयोग नपाएपछि उनले बिधायक निरज जिम्बालाई जानकारी गराएकी थिइन्। त्यसपछि बिधायक जिम्बा गत वर्ष जुलाई महिनामा स्वयम् रामजी दोकान डाँडा पुगेर दुर्गा छेत्रीको अवस्थाको निरीक्षण गरेपछि घर निर्माण गर्ने निर्णय गरेका थिए। बिधायक जिम्बाले जनप्रतिनिधिको धर्म निर्वाह गर्दै आफ्नो समष्टिमा सामाजिक न्याय र सेवा प्रवाहलाई निरन्तरता दिँदै आएका छन्। वृद्ध, अपांग, बिपन्न तथा असहायहरूका निम्ति उनका यस्ता सेवाहरूले समाजमा सकारात्मक प्रेरणा जगाएको छ।
गोरानासं सदस्य निलु सुब्बाले परिवार तर्फबाट सहयोग पुर्‍याएका बिधायक निरज जिम्बाप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement