खरसाङ: खरसाङमा पहिलोपल्ट हुन लागेको अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टलाई खरसाङ महकुमा खेलकूद एसोसिएसनको सभा सम्पन्न भएको छ। उक्त सभा एसोसिएसनको सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट विषयमा चर्चा परिचर्चा गरिएको छ।सभामा उक्त फुटबल टुर्नामेन्टको प्रायोजना सभापति मोहन योञ्जन र परिवारको तर्फबाट आफ्नो छोरा दिवस लामाको स्मृतिमा गरिएको छ। सभामा अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको लागि समयसीमा १ अप्रेल २००८ राखिएको छ। यस समयावधिमा जन्मेका १७ वर्षभित्रका युवाहरुले टुर्नामेन्टमा भाग लिन सक्ने बताइएको छ। यस टुर्नामेन्टको लागि पञ्जीकरण गर्नलाई गत ८ अप्रेल अन्तिम मिति राखिएको थियो भने उक्त पञ्जीकरण बुझाउने अन्तिम दिन आगामी १५ अप्रेल दिउँसो २ बजीदेखि ४:३० बजीसम्म राखिएको छ। यसको साथै कुनै पनि टिमको कसैले पनि टिमको पञ्जीकरण बुझाउँदा खेलाडीहरूको हालैको पास फोटो, उमेरको लागि जन्म प्रमाण पत्र कि आधार कार्ड पनि बुझाउनु पर्ने भएको छ। यो अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट खरसाङको चानमारी खेल मैदानमा आयोजना गरिने भएको छ। उक्त सभा र अण्डर १७ खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्ट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद एसोसिएसनको सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।