केकेआरविरुद्ध रोमाञ्चक म्याचमा एलएसजी ४ रनले विजयी

IMG-20250408-WA0269

काेलकत्ता: लखनऊ सुपर जाइण्ट्स (एलएसजी) – ले आईपीएल २०२५-को २१औं म्याचमा काेलकत्ता नाइट राइडर्स (केकेआर) -विरुद्ध ४ रनले रोमाञ्चक जीत हासिल गऱ्यो। ईडन गार्डन्समा मंगलवार टस हारेर पहिला ब्याटिंग गर्दै रिषभ पन्तको कप्तानीमा रहने एलएसजी-ले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो । जवाफमा केकेआरले कड़ा चुनौती दिए पनि २० ओभरमा ७ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो। म्याचमा पहिला ब्याटिंग गर्ने एलएजी-लाई ओपनरद्वय एडन मार्करम र मिचेल मार्शले विध्वंशी शुरुवात दिलाए। यी दुईजनाले केवल ६२ बलमा ९९ रनको पार्टनरशीप गरे। हर्षित राणाको शिकार बन्न अघि मार्करमले ४ वटा चौका र २ वटा छक्काको साथ २८ बलमा ४७ रन बनाए। त्यसपछि मार्शले फर्ममा रहने निकोलस पूरनसँग तेजीको साथ रन बनाउन जारी राखे। मार्श र पूरनले मिलेर दोस्रो विकेटको निम्ति ७१ रन जोड़े। मार्श ६ वटा चौका र ५ वटा छक्काको साथ ४८ बलमा ८१ रन बनाएर आउट भए। त्यसपछि पूरनले अन्तसम्म क्रीजमा रहेर टीमलाई ठूलो स्कोरसम्म पुऱ्याए। प्लेयर अव् द म्याच रहने पूरनले ८ वटा छक्का र ७ वटा चौकाको साथ ३६ बल खेलेर अविजित ८७ रन बनाए। केकेआरका बलरहरूमा हर्षितले सर्वाधिक २ विकेट लिए।
जीतको निम्ति ठूलो लक्ष्यलाई खेदो गर्दै ओपनर क्विण्टन डी कक (१५ रन) लाई तेस्रो ओभरमै गुमाएपछि कप्तान अजिंक्य रहाणेले टीमलाई बचाउने प्रयास जारी राखे। केवल ३७ रनमा पहिलो विकेटको पतनपछि रहाणेले सुनिल नारेन (३० रन) सँग मिलेर दोस्रो विकेटको निम्ति ५४ रन जोड़े। नारेनले १३ बल खेलेर ४ वटा चौका र २ छक्का लगाए। नारेन आउट भएपछि रहाणेले त्यसपछि भेंकटेश अय्यरसँग मिलेर आक्रामक ब्याटिंग गर्दै तेस्रो विकेटको निम्ति ७१ रनको पार्टनरशीप गरे। रहाणे र अय्यर क्रीजमा रहँदासम्म केकेआरको जीत सम्भव लागिरहेको थियो तर १३औं ओभरमा रहाणे आउट हुनको साथै एलएसजी म्याचमा फर्किन सफल भयो। रहाणेले ८ वटा चौका र २ वटा छक्काको साथ ३५ बलमा ६१ रन बनाए। त्यसपछि केकेआरले रमनदीप सिंह, अंगकृष रघुवंशी, आन्द्रे रसेल र अय्यरको विकेट लगातार अन्तरालमा गुमायो। अय्यरले २९ बलमा ४५ रन बनाए। अन्तिम ओभरहरूमा रिंकू सिंहले ६ वटा चौका र २ वटा छक्काको साथ १५ बलमा अविजित ३८ रन बनाए पनि टीमलाई हारबाट बचाउन सकेनन् । एलएसजी-का बलरहरूमा आकाश दीप र शार्दुल ठाकुरले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement