खरसाङ: खरसाङको सिरुबारीमा रहेको साङ्गे छोयलिङ गुम्बामा ठोइमा च्योद अर्थात क्रोधी काली पूजा सम्पन्न गरिएको छ। चैत्र दशमीको दिन गुरु रिम्पोर्छेको जन्म तिथि परेकोले यो पावन अवसरमा उक्त पूजाको आयोजना गरिएको हो भनी जानकारी दिइएको छ। गुम्बाका ६ जना आनी, लोपेनला साङ्गे मिगमार अनि खेम्पोला श्यानफेन चारचिनको अगुवाईमा यो पूजा सम्पन्न गरिएको थियो। यस पूजामा नयॉं बस्तीको कुनसाङ नामदोलिङ गुम्बा अऩि मन्टभियट रोडको टॉंसी साम्तेनलिङ गुम्बाका ६० जना आनीहरूले पनि अंशग्रहण गरेका थिए। पूजाको कार्यक्रममा गुम्बा सञ्चालन समितिका सभापति अमिर योञ्जन, सचिव डीबी गोले, कोषाध्यक्ष अजय गोले, तामाङ संस्थाका सभापति डीके गुरुङ, सचिव दिपङ्कर गुरुङ, कोषाध्यक्ष सुरेन घिसिङ लगायत सदस्यहरूले उपस्थिति रहेको थियो। पूजा सफलता पूर्वक सम्पन्न गर्नको निम्ति सहयोग पुऱ्याउने सबैलाई तामाङ संस्थाका मुख्य सल्लाहकार मानसिंह मोक्तानले धन्वाद ज्ञापन गरेका थिए। तिनले आगामी दिनमा पनि यस प्रकारको धर्मिक आयोजना भइरहोस भनी आफ्नो धन्यवाद सम्बोधनमा बताउए।

तामाङ संस्थाका सचिव दिपङ्कर गुरुङले दिएका जानकारी अनुसार यस गुम्बामा यस प्रकारको धार्मिक कार्यक्रम अथवा पूजाको आयोजना समय-समयमा भइरहने गरेको छ। ठोइमा च्योद पूजा गुरु रिम्पोर्छेको जन्म तिथिको पावन अवसरमा गरिएको हो र यो पूजा सम्पूर्ण प्राणी जगतको सुरक्षा, शान्ति र समृद्धिको निम्ति गरिएको हो।