झापा: काठमाडौँ तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन्।
उनीहरु आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ती दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपिल राज बोहराले बताए।
योसँगै राजावादी आन्दोलनका उत्रिएकाहरुको पक्राउ पर्ने संख्या ७३ पुगेको छ। यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणालगायत ६७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेकाहरु विरुद्ध राज्यविरुद्धको अपराधमा समेत अनुसन्धान अघि बढाइएको छ।