काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने बताएका छन्।
मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।
‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ माक्र्सवादी सोचाइ हुन सक्दैन। त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन,’ प्रचण्डले भनेका छन्।
यसअघि पटक पटक कम्युनिस्ट एकताका प्रयास भए पनि सोचेजस्तो हुन नसकेको भन्दै उनले त्यसबाट शिक्षा लिनुको विकल्प नभएको जिकिर गरे।
‘कम्युनिस्ट एकताका प्रयास नभएका होइन। कहिले त्यो सफलजस्तो कहिले असफलजस्तो हुने गरेका छन्। पछिल्लो चरणमा देशका दुईवटा अलि प्रभावशाली कम्युनिस्ट पार्टीका बीचमा एकताका प्रयास भए। एकता भयो पनि। सबैले अनुमोदन पनि गरे,’ प्रचण्डले भनेका छन्, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि सरकारबाट सबैले प्रशंसा गर्ने भनौं वा इतिहासमा नाम रच्ने र पार्टीको एकतालाई बचाउन पनि सकेनौं। हामीले त्यसबाट शिक्षा लिनुको अर्को विकल्प छैन।’
वामपन्थी एकताका लागि एक भएर अघि बढ्नुपर्ने भन्दै उनले एकताको झण्डा छाड्न नहुने तर्क पेस गरे।
‘वामपन्थी एकताको लागि निरन्तर लाग्नु नै छ। हामी विभाजित पनि भयौं। कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं,’ प्रचण्डले भने, ‘तर, हामीले एकताको झण्डा चाहिँ छाडेका छैनौं। अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ। एकताको झण्डा छाड्नु हुँदैन भन्ने कुरामा प्रष्ट छौं।’