गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज भिडियो कन्फरेन्समार्फत उत्तरपूर्वी क्षेत्र विकास मन्त्रालयद्वारा आयोजित कृषि तथा बागवानी सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठकमा सहभागिता जनाए। आजको बैठकको मुख्य उद्देश्य उत्तरपूर्वी राज्यका केन्द्रीय मन्त्रीगण, मुख्यमन्त्रीहरू र क्याबिनेट मन्त्रीहरूलाई एउटै मञ्चमा ल्याएर कृषि र बागवानीको विकास र बजार सम्बन्धलाई सुदृढ पार्ने रहेको थियो। यस बैठकमा पूर्वाधारको कमी, प्रविधिमा सीमित सुविधा, किसान र उत्पादकहरूको बजार प्रबन्धनमा अवरोधहरू लगायत अन्य मुख्य चुनौतीहरूमा छलफल गरियो। मुख्यमन्त्री तामाङले उक्त महत्वपूर्ण क्षेत्रहरूमाथि हुने सम्भावनालाई उजागर गर्न नीतिगत सुधार, राष्ट्रियकृत ब्यांकबाट अधिक सहयोग, प्रविधि साथै पूर्वाधार सुधार र कनेक्टिभिटीको तत्काल आवश्यकतामाथि प्रकाश पारे। उनले केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियालाई उनको कृषि विभागप्रतिको लगाव साथै रणनीतिको निम्ति कृतज्ञता व्यक्त गरे। विशेष गरेर कृषि मूल्य शृङ्खलामा संरचनात्मक र सञ्चालन देखिएको उत्तर चढाउमाथि सिन्धियाको योगदानलाई भविष्यको नीति निर्देशनमा महत्वपूर्ण भूमिका खेल्न्न सक्ने बताए। कृषि केन्द्रित सत्रपछि, मुख्यमन्त्रीले उत्तरपूर्वमा लगानी प्रवर्द्धन र पर्यटन सम्बन्धी उच्च-स्तरीय कार्यदल बैठकमा पनि भाग लिए। आजको बैठकले सिक्किमको कृषि र बागवानी क्षेत्रलाई उकास्न व्यावहारिक समाधानहरू पहिचान गर्ने बाटो खोलेको छ, जसले कृषकहरुको आर्थिक विकासमा मदत पुऱ्याउने छ, मुख्यमन्त्रीले भने।