गान्तोक: त्रिपुरा राज्यमा उष्णप्रदेशीय अर्किडको उत्पादन वृद्धि एवं विस्तारका लागि, आइसीएआर राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र (एनआरसीओ), पाकिम, सिक्किमद्वारा पूर्वोत्तर क्षेत्रका लागि आइसीएआर अनुसन्धान परिसर तथा त्रिपुरा सरकारको बागवानी एवं माटो संरक्षण निर्देशालयको सहयोगमा ७ अप्रेलको दिन अगरतलास्थित प्रज्ञा भवनमा एकदिने प्रशिक्षण एवं बिरुवा वितरण कार्यक्रम आयोजित गरियो। अर्किड कृषकहरूलाई बिरुवाका साथमा अन्य माध्यम वितरण गर्न आइसीएआर-एनआरसीओ, सिक्किमद्वारा आयोजित शृङ्खलाको यो दोस्रो कार्यक्रम थियो। कार्यक्रमको उद्घाटन गर्दै त्रिपुरा सरकारका अल्पसङ्ख्यक कल्याण, जनजाति कल्याण तथा सहकारिता मन्त्री शुक्लचरण नोवाटियाले दुवै घरेलु अनि वैश्विक बजारको माध्यमद्वारा कृषकहरूको आमदानी बढाउन अर्किडले खेल्नसक्ने महत्त्वपूर्ण भूमिकाबारे अवगत गराए। कार्यक्रममा त्रिपुराभरिका कृषक, उत्पाद तथा कृषक क्लब र एसएचजी सदस्यहरूको उत्साही सहभागिता रहेको थियो। जसमा आइसीएआर-आइआइडब्लुबीआर, कर्णाल, हरियाणाको पूर्वोत्तर घटक अन्तर्गत ३५ लाख मूल्य बराबरको १२ हजारभन्दा धेरै उच्च गुणस्तरीय डेन्ड्रोबियम अर्किडको बिरुवासहित कोको ब्लक वितरण गरियो। यस अवसरमा काक्राबन सालगढ निर्वाचन क्षेत्रका विधायक जीतेन्द्र मजुमदार, आइसीएआर-आइआइडब्लुबीआर (एनईएच)-का पीएस एवं शीर्ष अधिकारी डा. जोगेन्द्र सिंह, कृषि विभागका सचिव अपूर्व रोय, कृषि निर्देशक डा. पीपी जमातिया तथा बागवानी एवं माटो संरक्षण विभागका निर्देशक दीपक दास पनि उपस्थित थिए। आइसीएआर-एनआरसीओका निर्देशक डा. एसपी दासले उपस्थित सबैलाई स्वागत जनाउँदै केन्द्रको उपलब्धिबारे जानकारी दिनका अतिरिक्त डेन्ड्रोबियमलाई चाहिने खुराक अनि फूल फुलाउन आवश्यक पर्ने प्रबन्धन कार्यको महत्त्वबारे अवगत गराए। यस पहलले त्रिपुराका कृषकहरूमा अर्किडको खेती गर्न रुचि बढाउनका साथै कृषिको विविधिकरणमा राज्यको प्रयासमा योगदान दिनका अतिरिकित् पुष्पखेतीको आर्थिक सम्भाव्यता बढाउने आशा गरिएको छ। आइसीएआर-एनआरसीओ, सिक्किमका वैज्ञानिकहरूले प्राविधिक सत्रमा प्रभावी तरिकाले उष्णप्रदेशीय अर्किडको खेती गर्ने सम्बन्धमा व्यावहारिक जानकारी दिए। त्रिपुराको विभिन्न जिल्लाका तीसजना कृषकले प्रशिक्षण कार्यक्रममा भाग लिँदै डेन्ड्रोबियम अर्किडको बिरुवा तथा माध्यमका रूपमा प्रयोग गर्न कोको ब्लकहरू प्राप्त गरे।