रम्फू: मानव उत्थान सेवा समिति सिक्किम राज्य समितिले राज्यका ६ जिल्लाको नौं तहसीलहरूमा मातृ दिवस पालन गऱ्यो। मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सतपालजी महाराजकी माता जगत जननी राज राजेश्वरी माताजीको ९५औं जन्मजयन्तीको अवसरमा मातृ दिवस पालन गरेको हो। समितिले माताजीको जन्मजयन्तीको उपलक्ष्यमा विभिन्न तहसीलभित्र पर्ने अस्पतालहरूमा फलफूलहरू वितरण गरे भनि कतिपय अनाथालयमा दिवाभोजको पनि आयोजन गरेका थिए। माताजीको जन्म ६ अप्रेल १९३० मा हरिद्वारमा भएको थियो। समितिले उहाँको जन्मदिनलाई मातृ दिवसको रुपमा मनाउँदै आईरहेको छ। ८०-९० को दशकदेखि नियमित रुपमा समितिमा लागिपर्ने वृद्ध आमाहरुलाई पनि सन्त महात्मागणको बाहुलीबाट दोसल्ला र अभिनन्दन पत्रद्वारा सम्मानित गरिएको थियो। जगत जननी राज राजेश्वरी माताजी १९७४ सालमा सिक्किम राज्यमा प्रथमपल्ट भ्रमणमा आएकी थिइन्। उहाँकै अथक प्रयासद्वारा मानव धर्मको प्रचार प्रसार तीव्र गतिमा फस्टाएर लगिएको थियो। मानव उत्थान सेवा समिति एक विशुद्ध अध्यात्मिक एवं सामाजिक संस्था भएको कारण भारतमा मात्र नभएर ६० भन्दा अधिक देशहरूमा यसको प्रचार वृहत रुपमा सञ्चालित गरिएको छ।