आन्दोलनको मार्ग पहिल्याउँदै आँगनवाडी कर्मी र सहायक कर्मीहरु

ICDS

मुख्यमन्त्री साथै राज्यपाललाई ज्ञापन दिने अनि यसपछि आमरण अनशन बस्ने

टीआरआई समाचार  

खरसाङ: एउटा स्थायी कर्मचारीले जति नै उनीहरु काम गर्छन्, तर उनीहरुले पाउने पारिश्रमिकलाई वेतन भनिँदैन अनरियम भनिन्छl भन्नुको अर्थ हो सम्मानको रुपमा प्राप्त हुने राशिl उनीहरु हुन् इन्टिग्रेटेड चाइल्ड डेभलपमेन्ट सर्भिसेस् (आईसीडीएस) स्कीम अर्थात एकीकृत बाल विकास सेवाको कार्यक्रममा कार्यरत आँगनवाडी कर्मी र सहायक कर्मीl आईसीडीएसको माध्यमबाट उनीहरु ०-६ वर्षका बालबालिकाको पोषण र स्वास्थ्य स्थिति सुधार गर्न, बालबालिका, किशोरीहरुको उचित मनोवैज्ञानिक, शारीरिक र सामाजिक विकासको लागि जग बसाल्न, मृत्युदर, विकृति, कुपोषण र विद्यालय छोड्नेजस्ता घटनालाई कम गराउन सक्रिय बनेर कार्य गर्छन्l बाल विकास प्रवर्द्धन गर्न विभिन्न विभागहरू बीच नीति र कार्यान्वयनको प्रभावकारी समन्वय गर्न, उचित पोषण र स्वास्थ्य शिक्षाको माध्यमबाट नानीको सामान्य स्वास्थ्य र पोषण आवश्यकताहरू हेरचाह गर्न आमाको क्षमता अभिवृद्धि गर्ने काममा उनीहरुको भूमिका महत्वपूर्ण छ।

समाजका मुख्य पाटा बालबालिका साथै किशोरीहरुको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने आँगनवाडी कर्मी र सहायक कर्मीहरु आफ्नो सुरक्षित भविष्य र अधिकारको लागि आज आन्दोलनको अग्निपथमा प्रवेश गर्न बाध्य हुँदैछन्l मङ्गलबार खरसाङको गोर्खा जन पुस्तकालयमा पश्चिम बङ्ग आँगनवाडी कर्मी अनि सहायक कर्मी समितिको सभामा उनीहरुको अधिकार र सुरक्षित भविष्यलाई गहन चर्चा भयोl समितिका राज्य अध्यक्ष अञ्जन मण्डलले भनेअनुसार पश्चिम बङ्गालमा करिब २ लाख ३२ हजार आँगनवाडी कर्मी र सहायक कर्मीहरु कार्यरत छन्l ६० देखि ७० प्रतिशतको घरसंसार यसैबाट संचालन हुन्छl उनीहरुले पाउने अनरियम यस्तो छ आँगनवाडी कर्मीको ८,२५० रुपियाँ अनि सहायक कर्मीको ६,२५० रुपियाँl यसमा केन्द्र र राज्य सरकारले भुक्तानी गर्दछl अहिलेको महँगो बजारमा यस बारेमा प्रश्न खडा हुन्छ नैl ‘उनीहरुले टीए-डीए पनि पाउँदैनन्’, अञ्जन मण्डल बताउँछन्l उनले भने, ‘वर्कर्सहरु दबावमा काम गर्छन्l दबाउने प्रकिया चलिरहेको छl राजनैतिक पार्टीहरु आउँछ जान्छ, तर आईसीडीएसका वर्कर्सहरुका बारेमा कसैले सोच्दैनन्l’ समितिले नयाँ शिक्षा नीति दिनुपर्ने, आँगनवाडी कर्मी र सहायक कर्मीहरुको अनरियममा वृद्धि गर्नुपर्ने माग रहेको उनले बताएका छन्l उनले अझ भने, ‘६५ वर्ष पुगेपछि तीन लाख रुपियाँ दिएर छटाइं गरिन्छl यसमा पाँच लाख रुपियाँ माग राखिएको छl’ आँगनवाडी कर्मी र सहायक कर्मीहरुको अधिकार र सम्मानको लागि समितिले सीडीपीओदेखि लिएर मुख्यमन्त्री साथै राज्यपाललाई ज्ञापन लिएर डेपुटेशनमा जाने अनि यसपछि आमरण अनशनमा बस्ने उनले बताएका छन्l

उक्त सभामा पश्चिम बङ्ग आँगनवाडी कर्मी अनि सहायक कर्मी समितिकी राज्य उपाध्यक्ष सुमिता साह, गोरुबथान ब्लकका उपसभापति कल्पना छेत्री, सचिव सरिता खड्का, खरसाङ प्रोजेक्टबाट संगीता खड्का, हेमा गुरुङ, सुष्मा थापा, नम्रता तामाङ, रेखा छेत्री, लता मोक्तान र अन्जु प्रधानले वक्तव्य प्रस्तुत गरेl               

यस्तो छ आँगनवाडीको भूमिका

आँगनवाडी साना बालबालिकाको पोषण, स्वास्थ्य र शैक्षिक आवश्यकताहरू पूरा गर्न आईसीडीएस अर्थात एकीकृत बाल विकास सेवाहरूको कार्यक्रमको रूपमा गाउँ स्तरमा सरकार-समर्थित केन्द्र हो। आँगनवाडीले ६ वर्षसम्मका बालबालिका, किशोरी, गर्भवती महिला र सुत्केरी आमाहरूको आवश्यकता पूरा गर्छ। स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र अन्य विभागका अधिकारीहरूसँग समन्वयमा आँगनवाडी कार्यकर्ता र सहायकहरूले आँगनवाडी केन्द्र सञ्चालन गर्छन् र आईसीडीएस लागू गर्छन्।

आँगनवाडीमा प्रदान गरिने सेवाहरू:

  • ६ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने
  • सबै गर्भवती महिलाहरूक लागि प्रसवपूर्व हेरचाह र खोप
  • ६ वर्ष मुनिका बालबालिकालाई पूरक पोषण
  • गर्भवती साथै शिशुहरुको हेरचाह गर्ने महिलाहरुलाई अनूपूरक पोषण
  • १५-४५ वर्ष उमेर समूहका सबै महिलाहरूका लागि पोषण र स्वास्थ्य शिक्षा
  • गर्भवती महिलाहरूको प्रसवपूर्व हेरचाह र शिशुहरूको हेरचाह गर्ने आमाहरूको प्रसवोत्तर हेरचाह
  • नवजात शिशु र ६ वर्ष मुनिका बालबालिकाको हेरचाह गर्ने
  • कुपोषण अथवा बिमारीको गम्भीर मामलाहरुलाई अस्पताल, समुदाय स्वास्थ्य केन्द्रहरु अथवा जिल्ला अस्पतालहरुमा (पोषण पुनर्वास केन्द्र/नवजात शिशु गहन देखरेख यूनिट) लाई पठाउनु होl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement