गाँउले बजारमै सिमित बुधबारे बजार; सडक आइपुगेको साठी वर्ष लाग्दा पनि

IMG-20220910-WA0116.jpg

गितडब्लिङ: ४१ नम्बर समष्टि अन्तर्गत पर्ने गितडब्लिङको बुधबारे बजार ग्रामीण हाटबजारसम्ममात्र सिमित रहेर गएको छ। ग्रामिण हाटबाटमाथि उठ्न सकेकै छैन।
बजारको केही किलोमिटर पूर्वमा नोकडाँडाको शुभबजार छ।नोकडाडा शुभ बजारलाई सडक सञ्जालले छोएको मात्र २० वर्ष भयो।यति समयभित्र नै नोकडाडा कालेबुङ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सकेको छ।सँघैमा रहेको लाभा र कफेरको बजारले पनि उल्लेख्य रूपमा फड्को मारिसकेका छन्।‌

कालेबुङ जिल्ला अन्तर्गत पर्ने गितडाब्लिङमा सामाजिक, धार्मिक र सांस्कृतिक महत्व बोकेका ऐतिहासिक स्थलहरू प्रशस्त छन्। अमरनाथ शिवालय मन्दिर, सन्त जोसेफ गिर्जाघर, लेप्चा गुम्बा यहाँका प्रसिद्ध धार्मिक स्थलहरू हुन्। भर्खरै आकर्षणको केन्द्र बन्दै गएको पोचोकको आलेटारले पनि निकै आगन्तुकहरूलाई तान्ने गरेको छ। सम्भावनाहरू प्रशस्त भएर पनि अव्यवस्थित सडकको जीर्ण अवस्था, च्यामुङ खोलामा पक्की पुल निर्माण नहुनु, प्रचार प्रसारको कमी आदिले पनि यो छेत्र ओझेलमा परेको हो। फलस्वरूप यहाँको ऐतिहासिक बुधबारे बजारको पनि स्तरोन्नति हुन सकेन।बर्खा शुरु भएसंगै बुधबारे बजार नजिकै रहेको च्यामुङ खोलाले सडक थुनेपछि सडक अवरुद्ध बन्दछ। खोला वारीका दर्जनौ गाउँहरूको बुधबारे बजार संगको सडक सम्पर्क विच्छेद हुन पुग्दछ। बनिसकेका सडकहरू पनि आवश्यक रखरखाउ र मरमतीको अभावमा जीर्ण बन्दै गएका छन्। गितडब्लिङ प्राकृतिक रूपले नै सुन्दर, बिशेष लेप्चा जातिका परम्परागत घर (रोङली), सामाजिक र सांस्कृतिक रूपमा धनी एउटा रमणीय छेत्र हो।
तल्लो बियोङको कफी खेती, माजोङ डाँडाको लिची, पोचोकको आलु र चिया खेती, बुधबारेको हाटबजार, यहाँको रेशम पालन केन्द्र, पार्मेनको सुनाखरी, गुम्बाडाँडाको चाँप र गुराँस, दुध ब्यवसाय देखि लिएर अँलैचीको उत्पादन यस छेत्रमा कृषि पर्यटन को अपार सम्भावना देखिन्छ। कृषि पर्यटनका अध्ययन र अनुसन्धानका लागि उचित छेत्र भएपनि प्रचार प्रसारको कमीले अझै पर्यटक आकर्षित हुन सकेका छैनन्।

बहुजातिय, बहुधार्मिक एंव बहुसांस्कृतिक पर्यटकीय गन्तव्यस्थल गितडाब्लिङलाई पूर्वाधारको निर्माण गरी पर्यटक भित्र्याउने अभियानका साथ अघि बढ्न सकेमा यो छेत्र कालेबुङ जिल्लाकै एक नमुना बन्न सक्नेछ। यस अभियानमा स्थानीय युवा पुस्ताको अग्रसरताको खाँचो भने रहेको देखिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement