मंगन: आगामी मनसुनलाई ध्यानमा राख्दै राज्य खाद्य तथा नागरिक आपूर्ति विभागका सचिव अनिलराज राईले मंगन जिल्लाका जोखिमपूर्ण क्षेत्रहरूमा पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न जिल्लाको भ्रमण गरेका छन्।
सचिवको साथमा अतिरिक्त सचिव डिकी डोमा भोटिया र विभागको अभियान्त्रिकी प्रकोष्ठका अधिकारीहरू पनि सामेल थिए। भ्रमण टोलीलाई मंगन जिल्लाका डीसीएसओ पाल्देन एन. लाचुङपा र टोलीले स्वागत जनाएको थियो।
सचिव राईले मंगन खाद्य गोदामको भ्रमण गर्दै खाद्य गोदामको हालै सम्पन्न मर्मत कार्यहरूको निरीक्षण गरे भने खाद्य गोदाममा पीडीएस स्टकको जानकारी लिए। यसरी नै उनले विभागको अभियान्त्रिकी प्रकोष्ठका अधिकारीहरूसँग अप्पर जङ्गूको तिङ्गभोङमा १०० मेट्रिक टन खाद्य गोदाम निर्माणको लागि प्रस्तावित स्थलको भ्रमण गरे तथा अधिकारीहरू र ठेकादारसँग थप कार्यविधिबारे छलफल गरे।
सचिव राईले केही फेयर प्राइस सपहरूको पनि भ्रमण गरे अनि एनएफएसए २०१३ को प्रावधानहरू अनुरूप ईपीओएस उपकरणहरू मार्फत पीडीएस वस्तुहरूको अनलाइन वितरणको स्थिति जाँच गरे। भ्रमणको क्रममा थप उनले अप्पर जङ्गूको तिङ्गभोङमा भाडामा लिइएको खाद्य गोदामको निरीक्षण गरे, जहाँ छ महिनाको अवधिको लागि पीडीएस चामल अग्रिम भण्डारण गरिएको छ। मनसुनमा साक्योङ पेन्टोङ र तिङ्गभोङका ११ गाउँका लाभार्थीहरूलाई ध्यानमा राख्दै यहॉं खाद्य गोदाम स्थापना गरिएको हो।
सचिवले लोवर जङ्गूको लिङदोङ बारफोक र हि गेथाङ र डिक्चु खाद्य गोदामको पनि भ्रमण गरेर पीडीएस वस्तुहरूको स्थितिको बारेमा जानकारी लिएका छन्।