त्रिरत्न तुलाधार अनि कर्म योञ्जनलाई जीटीए आईडलको टिमद्वारा सम्मान प्रदान

IMG-20250405-WA0272

सिलगढी: गायन क्षेत्रमा नव प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्ने उद्देश्यले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअधिनस्थ सूचना एवम् सांस्कृतिक विभागले जीटीए आइडल नामक कार्यक्रम सञ्चालन गरिरहेको छ।
गत १८ जनवरी २०२५ देखि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअन्तर्गत सम्पूर्ण समष्टिहरूमा जीटीए आइडलको अडिशन जारी छ।
यसै सन्दर्भमा गत २३ मार्च २०२५ को दिन दार्जीलिङस्थित गोर्खा रङ्गमञ्च भवनको प्रेक्षागृहमा दार्जीलिङ सदर २ समष्टिको आयोजनामा जीटीए आइडलको अडिशन सम्पन्न भयो। उक्त कार्यक्रममा यस समष्टिका वरिष्ठ नागरिक, शिक्षाविद्, सङ्गीतकार, साहित्यकार आदिलाई सम्वर्द्धना पनि जनाइयो। उक्त अवसरमा दार्जीलिङ पहाडका दुई स्रष्टा वरिष्ठ शास्त्रीय सङ्गीतज्ञय त्रिरत्न तुलाधार अनि कर्म योञ्जनलाई पनि सम्मान जनाइने कार्यक्रम रहे पनि उहाँहरूको शारीरिक अस्वस्थताको कारण उक्त समारोहमा उपस्थित दिएन। यसैले शनिबार उहाँहरूकै सिलगढीस्थित वासस्थानमा पुगेर सदर दुई समष्टि जीटीए आइडलका प्रमुख संयोजक तिलक देवान अनि सूचना एवम् सांस्कृतिक विभागका उपनिदेशक भुपेन्द्रकान्त घिसिङद्वारा सो सम्मानहरू उहाँहरूलाई प्रदान गरियो।
स्मरण गराइन्छ, त्रिरत्न तुलाधार भारतीय शास्त्रीय सङ्गीतका ज्ञाता हुन्, जसले शास्त्रीय सङ्गीतका महान हस्तीहरू जस्तै बढे गुलाम अली खान, उस्ताद अमजद अली खान आदिसित मञ्च साझा गर्दै भारत अनि अन्य देशहरूमा शास्त्रीय साङ्गीतिक प्रस्तुति दिई सम्पूर्ण पहाडलाई नै गौरवान्वित तुल्याउनु भएको छ।


हाल ९७ वर्षको उमेरमा पनि उहाँ उत्तिकै जोशिलो अनि जागरिलो देखिनुहुन्छ साथै नित्य साङ्गीतिक साधना गरिरहनु हुन्छ।
हाल ८७ वर्ष पुगेका वरिष्ठ सङ्गीतकार कर्म योञ्जनले धेरै नाटक, चलचित्र आदिमा सङ्गीत निर्देशन गर्नु भएको छ। स्वर्गीय अरूणा लामा, कुमार सुब्बा, जितेन्द्र बरदेवा आदि जस्ता अग्रज गायक-गायिकाहरूले कर्म योञ्जनद्वारा सङ्गीतबद्ध कालजयी गीतहरू समाजलाई दिइसकेका छन्। सङ्गीत भनेपछि मरिमेट्ने, स्वस्थ ठीक रहे अझ यस क्षेत्रमा धेरै काम गर्ने इच्छा राख्नु हुने कर्म योञ्जन नेपाली सङ्गीत क्षेत्रका अभिभावक हुन् भन्नुमा दुईमत नहोला।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement