दक्षिणा सिंह जीटीए आइडलको लागि समष्टिबाट चयन
खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको तर्फबाट जीटीए आईडलमा दक्षिणा सिंह चयन भएकी छन्। युवाहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यको साथमा शुरु भएको जीटीए आईडलको अडिशन आज खरसाङ चिमनी देवराली समष्टिमा सम्पन्न भएको छ। जीटीएभरिको विभिन्न समष्टिहरुमा भईरहेको जीटीए आईडलको ४१औं अडिशन आज २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिमा सम्पन्न भएको छ। यस अडिशनमा २८ नम्बर समष्टिबाट जम्मा २४ जनाले अडिशन दिएका थिए भने जम्मा पाँचजनालाई लाइभ प्रस्तुतिको लागि चयन गरिएको छ। ती पाँचजनामा दक्षिणा सिंह, अनेस बसेल सार्की, अश्विनी प्रधान, अनन्त छेत्री र बेहाल विश्वकर्म चयन भएका छन्। यी पाँचजनाले सांगीतिक टोलीको साथमा लाइभ प्रस्तुति दिएका थिए भने अन्त्यमा २८ नम्बर समष्टिको तर्फबाट जीटीए आईडलको लागि दक्षिणा सिंह चयन भएका छन्।

यस अडिशनमा निर्णायकको रुपमा संगीतकारहरु सहदेव चामलिङ, राजु सुन्दास र उपेन्द्र प्रधान रहेका थिए भने ११ जना जुरी सदस्यहरु रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, सभासद श्याम शेर्पा, वरिष्ठ संगीतकार गोबिन्द सिंह घतानी, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, खरसाङ कलेजका प्राचार्य डा समीर बल, गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामा, सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक बिमल राई लगायत अन्यहरु उपस्थित रहेका थिए। विश्व सुब्बा र सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले सम्बोधन गरेका थिए भने क्षेत्रीय सभासद श्याम शेर्पाले आओ्नो सम्बोधनमा सबैलाई धन्यवाद दिएका थिए। यस अवसरमा २८ नम्बर समष्टिको साहित्य,संगीत, कला, शिक्षा, खेलकूद र अन्य विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान जनाइएको छ। कार्यक्रममा २८ नम्बर समष्टिमा भईरहेको विभिन्न विकासमूलक कार्यहरूको भिडियोमार्फत् प्रदर्शन पनि गरिएको थियो। जीटीए आईडलको २८ नम्बर समष्टिमा भएको यस अडिशन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले जीटीए आईडलको ४१ वटा समष्टीहरुमा अडिशन भईसकेको र अब केवल चारवटा समष्टिहरुमा मात्र बाँकी रहेको जानकारी गराउँदै अब चारवटा समष्टिहरुमा पनि अडिशन चाढै समाप्त गरेर महकुमा स्तरीय अडिशन सम्पन्न हुने बताएका छन्। उनले दार्जिलिङ, खरसाङ, मिरिक, कालेबुङ र गोरूबथानमा महकुमा स्तरीय जीटीए आइडलको कार्यक्रम हुने र त्यसपछि फाइनल हुने जानकारी गराएका छन्।

सभासद अनोश थापाले जीटीए आईडलको विजेतालाई अढाई लाख रुपियाँको साथमा सूचना अनि सांस्कृतिक विभागको तर्फबाट नोकरी दिइने भएको बताएका छन्। उनले उप विजेतालाई डेढ लाख अनि दोस्रो उप विजेतालाई एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्। यस अडिशन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले सबैलाई धन्यवाद दिएका छन्। उनले यस अडिशनमा विशेष गरेर १६ देखि ४० वर्षसम्मका लागि भए पनि ४० वर्षमाथिकाहरु पनि धेरै आएकाले हामी २८ नम्बर समष्टिमा ४० वर्ष नाघेका मानिसहरूलाई लिएर कार्यक्रम आयोजना गर्ने योजना रहेको बताएका छन्। उनले जीटीए आईडल युवाहरुका लागि ठूलो मञ्च रहेको बताएका छन्।