वाशिंगटन: नोवाक जोकोविच, यानिक सिनर, आर्यना सबालेंका र कोको गौफ जस्ता २० प्रमुख टेनिस खेलाड़ीहरूले चारैवटा ग्राण्ड स्ल्याम टुर्नामेण्टको पुरस्कार राशि बढ़ाउने माग गरेका छन्। यतिमात्र नभएर यी दिग्गज र स्टार टेनिस खेलाड़ीहरूलाई उनीहरूलाई प्रभावित गर्ने फसेलाहरूमा उनीहरूका विचारलाई अधिक महत्त्व दिइयोस् भन्ने माग पनि गरेका छन्। यी खेलाड़ीहरूले यस सम्बन्धमा चारैवटा ग्राण्ड स्ल्याम टुर्नामेण्टका प्रमुखहरूलाई पत्र लेखेका छन्। यो पत्र २१ मार्चमा लेखिएको थियो। अष्ट्रेलियन ओपनका प्रमुख क्रेग टिली हुन्। यसरी फ्रेञ्च ओपनका प्रमुख स्टीफन मोरेल, विम्बल्डनका प्रमुख सेली बोल्टन र यूएस ओपनका प्रमुख ल्यू शेर हुन्। यी सबैलाई सम्बोधित गर्दै खेलाड़ीहरूले पत्रमा यस महिनामा हुने म्याड्रिड ओपनको अवधि आफ्ना प्रतिनिधिहरू र चारैवटा ग्राण्ड स्ल्यामका प्रमुखहरूबीच बैठक गर्ने अनुरोध पनि गरेका छन्। पत्रमा पुरुष ऱ्याङकिंगमा शीर्ष १०-मा सामेल सबै खेलाड़ीहरूले हस्ताक्षर गरेका छन् जबकि महिला वर्गमा शीर्ष ११ खेलाड़ीहरूमा केवल एलिया रायबाकिनाले हस्ताक्षर गरेकी छैनन्। अहिले अष्ट्रेलियन ओपनको जम्मा पुरस्कार राशि लगभग ५८ मिलियन डलर (लगभग ४९४ करोड़ रुपियाँ) रहेको छ। फ्रेञ्च ओपनमा पनि लगभग त्यति नै पुरस्कार राशि रहेको छ। यसरी विम्बल्डनमा लगभग ६४ मिलियन डलर (लगभग ५४५ करोड़ रुपियाँ) र यूएस ओपनमा लगभग ७५ मिलियन डलर (लगभग ६३९ करोड़ रुपियाँ)-को पुरस्कार राशि रहेको छ। यस पुरस्कार राशिबाट विजेता र उपविजेताहरूका साथमा हिस्सा लिने अन्य खेलाड़ीहरूबीच पुरस्कार राशि बाँड़िन्छ।
यसबीच अन्तर्राष्ट्रिय टेनिस महासंघले यस सालको होपम्यान कप इटलीको दक्षिणी शहर बारीमा आयोजन गरिने जानकारी दिएको छ। यस मिश्रित टीम टुर्नामेण्टमा इटली, फ्रान्स, स्पेन, ग्रीस, कनाडा र वर्तमान च्याम्पियन क्रोएशियाको टीमहरूले हिस्सा लिनेछन्। यसको आयोजन विम्बल्डन समाप्त भएको एक हप्तापछि १६-देखि २० जुलाईबीच गरिनेछ। होपम्यान कपको निम्ति टीमहरूमा एकजना पुरुष र एकजना महिला खेलाड़ी सामेल हुन्छन्। यसको एउटा खेलमा एउटा पुरुष एकल, एउटा महिला एकल र एउटा मिश्रित युगल म्याच हुन्छ। यस टुर्नामेण्टबाट खेलाड़ीहरूलाई ऱ्याङकिंग पोइण्ट्स हासिल हुँदैन। अष्ट्रेलियाका महान खेलाड़ी ह्यारी होपम्यानको नाममा होपम्यान कप १९८९-मा शुरु भएको थियो अनि २०२०-सम्म प्रत्येक साल आयोजन गरिन्थ्यो। पहिलो ३० सालसम्म यसको आयोजन अष्ट्रेलियाको पर्थ शहरमाम टेनिस सीजनको पहिलो हप्तामा गरिन्थ्यो। अन्तिमपल्ट यसको आयोजन २०२३-मा फ्रान्समा भएको थियो, जसमा क्रोएशियाका डोना वेकिच र बोर्ना कोरिच च्याम्पियन बनेका थिए।