सिलगढी: सिलगढी संलग्न डाबग्राम २बनम्बर अञ्चलको ठाकुरनगर क्षेत्रका मानिसहरुको घरमा पानीको कल भए तापनि पानी भने थोपो नझरेको धेरै दिन भइसकेको बताए।उनीहरु हालमा पिउने पानीको समस्यासित जुझिरहेका छन्। पिउने पानी नभएकोले गर्दा प्राथमिक विद्यालयका विद्यार्थीहरू पनि समस्यामा छन्। स्थानीय मानिसहरूले बताएअनुसार इलाकामा सबैको घरमा पिउने पानीको कनेक्सन भए तापनि कलमा पानी भने आउँदैन। यसबारे स्थानीय प्रधानलाई अवगत गराए तापनि हालसम्म पिउने पानीको समस्याको समाधान भएको छैन। यसैले गर्दा स्थानीय मानिसहरूले आज क्षोभ प्रकट गरे। यस सम्बन्धमा डाबग्राम २ नम्बर अञ्चल प्रधान सुधा सिंह च्याटर्जीले भनिन्, पिउने पानीको व्यवस्था भए तापनि केही समस्याहरूले गर्दा ठाकुरनगर इलाका निवासीहरू पिउने पानीबाट वञ्चित छन्। चाँडै उक्त समस्याको समाधान गरिने तिनले आश्वासन दिइन्। डाबग्राम फुलबारीका विधायक शिखा च्याटर्जीले भनिन्, केन्द्र सरकारले राशि आवन्टित गरे तापनि राज्य सरकारले यसलाई प्रयोग गर्न विफल भएकोले गर्दा नै गाउँलेहरू पिउने पानीको समस्यासित जुझिरहेका छन्। पिउने पानीको समस्याको चाँडै समाधान गरिदिने तिनले अपील गरेकी छन्।










