दार्जिलिङ: आज शुक्रवार दार्जिलिङका सांसद राजु विष्टको नेतृत्वमा एक टोलीले केन्द्रीय जनजाति मामिला मन्त्री जोएल ओरमसँग भेट गरी गोर्खा जातिका छुटेका जातगोष्ठीलाई जनजातिको मान्यता दिन चाँडो प्रक्रिया पूरा गर्न अनुरोध गरेका छन्। यसको
साथै यस टोलीले मन्त्री ओरमलाई एथ्नोग्राफिक डेटा तथा अन्य सान्दर्भिक प्रतिवेदन र तथ्याङ्कहरू विस्तृत रूपमा बुझाएको छ जसले गोर्खा जातिका छुटेका जात गोष्ठीहरूलाई जनजातिका रूपमा पुनः समावेश गर्ने कुरालाई सहयोग र समर्थन गर्नेछ। टोलीमा गोजमुमो अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, गोर्खा जनजाति महासङ्घका अध्यक्ष एमएस राई र गोविन्द प्रधान थिए। सांसद विष्टका अनुसार ओरमले गोर्खा जातिका छुटेका जातगोष्ठीलाई जनजातिको दर्जा दिने प्रक्रिया सकेसम्म छिट्टो अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको आश्वासन दिएका छन्।
यसबारे एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदै राजु विष्टले भनेका छन्: मन्त्री जोएल ओरम गोर्खा जातिका हितैषी हुन्। उनले हाम्रो मागबारे गहिरो सहानुभूति व्यक्त गरेका छन्।

गोर्खा जातिका छुटेका जातगोष्ठीलाई जनजातिको श्रेणीमा सामेल गराउने आधिकारिक प्रक्रिया लामो र कठिन भए तापनि यस प्रक्रियामा तीव्रता ल्याउन आफ्नो क्षमता अनुसारका सबै कार्य गर्ने केन्द्रीय जनजाति मामिला मन्त्री जोएल ओरमले यस भेटवार्ताअवधि आश्वासन दिएको विष्टको भनाइ छ।