खरसाङ: खरसाङको गिध्द पहाडस्थित जीटीएको सचिवालयमा सिटोङ लाटपञ्चार समष्टिको (पशु पालन )प्राणी सम्पदा विषयमा सभासद प्रणाम रसाईलीको विशेष उपस्थितिमा एक सभा सम्पन्न भयो। सभामा सिटोङ दुई ग्राम पञ्चायत प्रधान समिर छेत्री, एसिस्टेन्ट डायरेक्टर डाक्टर डिके राई, सिटोङ एक पञ्चायत प्रधान सुसिल सुब्बा, बीएलडिओ डाक्टर निहार भौमिक, डाक्टर अमित सरकार, डाक्टर सुडेन्ला छिरिङ भुटिया, बिजय खवास, विकास थापा, डाक्टर अंकुर शर्मा, डाक्टर अरुण छेत्री अनि कुमार राई उपस्थित थिए। यस सभामा यस क्षेत्रमा पशु चिकित्स वा प्राणी मित्रहरूले भोग्नु परिरहेको विविध विषयमा चर्चा परिचर्चा गरियो। सम्बन्धित विभागका उच्च अधिकारीहरू उपस्थित रहेको यस सभामा विभागीय कर्मचारीको अभाव, वर्क कल्चर एवम् अनियमित कार्य प्रणालीमाथि पनि चर्चा परिचर्चा भयो। खरसाङ महकुमाभित्र सिटोङ लाटपञ्चार समष्टि मात्र खाट्टी खेतीपाती वा कृषि गरिने स्थान हो। त्यसर्थ यस क्षेत्रमा पशुपालनको पनि अति नै महत्वपूर्ण भूमिका रहेको कारण पशु अस्पताल वा भेट्नेरीको उचित सुविधा हुन अति नै जरूरी रहेको कुरा सभाको प्रस्ताव अनुसार निष्कर्ष निस्केको जानकारी प्राप्त भएको छ। पशु पालक अनि कृषकहरूलाई अब उसो सचेतना शिविरको आयोजना गरेर पशुहरूलाई लाग्ने रोगहरू विषय जागरूक गराउने निर्णय लिईयो। पशुहरूको निम्ति पनि आउँदो दिनमा स्वास्थ्य शिविरको आयोजना हुन अति नै आवश्यक रहेको उपस्थित पशु चिकित्सहरूले मन्तब्य राखे। यसै अवधि खरसाङ हटी कल्चरका प्रतिनिधिहरू अनि अनुसुचित जातिका प्रतिनिधिहरूले पनि सभासद प्रणाम रसाईलीसग सौहार्दपूर्ण भेटघाट गरेका थिए।